हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाख पहिलो साता

काठमाडौं सम्वाददाता । मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रीय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनले बुधबार प्रतियोगिता बारे जानकारी दिएको हो । आगामी ४–६ बैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधबार ठमेलस्थित होटल आर्ट्समा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले बताए ।

प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतिस्पर्धामा २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छन् ।

‘कोरोना महामारीले खेलकुद गतिविधि हुन पाएन । अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएको छ । त्यसैले हामीले फेरि खेलाडीहरुलाई चलायमान बनाउने उदेश्यले प्रतियोगिताको तयारी गरेका छौं’, पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने, ‘अब खेलाडीहरुका लागि बिस्तारै प्रतियोगिता बढाउदै जाने छौं ।’

संघले यसअघि आफ्नो पहिलो राष्ट्रीय च्याम्पियनसिपको रुपमा रोल्पामा शहीद स्मृती हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो । यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रीय च्याम्पियनसिप भने भर्चुअल गरेको थियो । संघले प्रतिस्पर्धाका विजेता खेलाडीहरुलाई नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाएको छ ।

आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था संघले नै गर्ने जनाएको छ । खेलाडीको सहभागीतासमेत निशुल्क गरिएको प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख खर्च लाग्ने संघका अध्यक्ष घर्ती मगरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close