
पोखरा स्पोर्टस । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा विहिवार सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डायमण्ड क्लब काठमाडौँ विजयी भएका छन् ।

यसैगरी पुरुतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ न्यू डाइमण्डले नेपाल पुलिसलाई ३–१ सेटमा जित हात पार्न सफल भयो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६ मा जित निकालेको हो ।

यसैगरी एपिएफले आर्मी माथि ३–२ को सेटमा विजयी हुन सफल भयो । एपिएफले २७–२५, १८–२५, २५–१७, २०–२५ र १५–७ अङ्कको विजय हासिल गरेको आयोजक संस्थाका सचिव प्रकाश बरालले जानकारी दिएका छन । पुरुषतर्फ दुई विभागीय टोलीको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सोझो सेटमा एपिएफलाई पराजित गर्न सफल भयो । आर्र्मीले २५–२३,२५–२१ र २५–१८ को अङ्कले जित निकालेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
तस्विरः सुदर्शन रञ्जित
Pokhara Marathon Advt

