टाइगर कप भलिवल : खचाखच दर्शकका माझ गण्डकीद्वारा नेपाली सेना पराजित

पोखरा स्पोर्टस । पोखरामा जारी “टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७७” खचाखच दर्शक माझ गण्डकी पुरुषतर्फ र सशस्त्र प्रहरी तथा महिला तर्फ नेपाल पुलिस क्लब विजयी भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको प्रतिष्पर्धामा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो । पुलिसले १८–२५, २५–२२, २५–२३ र २५–१६ अङ्कले आर्मीलाई पराजित गरेको हो ।

यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको टोलीले विभागीय त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१४, २५–१८ र २५–१७ सहित ३–१ सेटमा जित निकाल्न सफल भएको प्रतियोगिता आयोजक टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिएका छन ।

पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले ३–२ को सेटमा नेपाल पुलिस क्लब माथि जीत हात पारेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा सशस्त्रले पुलिसलाई पहिलो र दोस्रो सेट २७–२५ र २५–२० अङ्क सहित जीत निकालेकामा तेस्रो र चौथो सेट १९–२५ र ९–२५ मा गुमाउन पुगेको थियो । निर्णायक अन्तिम सेटमा एपिएफले १५–१० अङ्क सहित पुलिसलाई पराजित गर्न सफल भएको थियो ।

प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डाइमण्ड एकेडेमी काठमाडौँले सहभागिता जनाएका छन् । पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको आयोजकले संस्थका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
तस्विर : सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close