
पोखरा स्पोर्टस । पोखरामा यही माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता”को अन्तिम तयारी पुरा भए सँगै सहभागी खेलाडीको निशुल्क विमा गरिने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा र प्रतियोगिताका संयोजक नविन गुरुङ प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिंदै
प्रतियोगिताको अन्तिम तयारी पुरा भएको जानकारी दिंदै आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले उक्त कुराको जानकारी दिएका हुन । उनले भने–“प्रतियोगिता अवधीभर खेलाडीलाई आफू सबै हिसाबले शुरक्षित छु भन्ने सन्देश दिन हामीले विमाको व्यवस्थाको गरेका हौं ।” पोखरामा आयोजना भएका कुनै पनि भलिवल प्रतियोगितामा विमाको व्यवस्था पहिलो पटक गरिएको उनले बताए ।

प्रतियोगिताको तयारी बारे जानकारी दिंदै नेपाल भलिबल संघका सल्लाहाकार समेत रहेका शर्माले प्रतियोगिता अवधीभर अग्रज तथा फरक क्षमता भएकाहरुलाई समेत निशुल्क भलिबल खेल हेर्ने व्यवस्था मिलाइएको बताए । अग्रज तथा फरक क्षमता भएकाहरुलाई खेलको आनन्द लिन सकुन भन्ने हेतुले वस्नका लागि समेत उचित स्थान तोकिने उनले बताए । प्रतियोगिताबाट वचत भएको रकम खेलकुद विकास र सामाजिक क्षेत्रमा खर्च गरिने उनले बताए ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको बताउँदै प्रतियोगिताका संयोजक नविन गुरुङले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै भने–“हाम्रो तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।”
टाइगर ग्रुप अफ पोखराका नेपाल जापानका अध्यक्ष समेत रहेका गुरुङले प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौँले प्रतिष्पर्धा गर्ने बताए । त्यसै गरी पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका भिड्ने छन ।
‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०/२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।
प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमिफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय रहेको आयोजकले जनाएको छ ।
तस्विरः सुदर्शन रञ्जित
Pokhara Marathon Advt

