
पोखरा स्पोर्टस । फुटबलको विश्वकप बन्द प्रशिक्षणका लागि पोखरा आएको राष्ट्रिय फुटबल टोलीलाई आज पोखरा रंगशालामा स्वागत गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले एक कार्यक्रमको आयोजना गरि पोखरामा प्रशिक्षणरत फुटबल, आर्चरी र भारोत्तोलनका खेलाडीलाई स्वागत गरिएको हो । फुटबल सँगै जापानमा आयोजना हुने ओलम्पिक खेलको तयारीका लागि आर्चरी र भारोत्तोलनको टिम पोखरामा वन्द प्रशिक्षणमा रहेको छ ।

स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का वोर्ड सदस्य राजेश कुमार गुरुङले राष्ट्रिय खेलाडीहरुलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । पोखरामा निर्माण भएका अन्तर्राष्ट्रियस्तरका पूर्वाधारले पनि खेलाडीलाई प्रशिक्षण सँगै खेल आयोजनाका लागि पोखरा महत्वपूर्ण गन्तव्य भएको बताउँदै खेलकुद विकास गर्नुपर्छ भन्ने प्रधान मन्त्री केपी ओली कै अवधारणाले पनि यि पूर्वाधार तयार निर्माण सम्भव भएको उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल र क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले समेत कार्यक्रममा आफ्ना धारणा राखेका थिए । स्वागत कार्यक्रममा एन्फाका उपाध्यक्ष कृष्ण थापा, फूटबलका पूर्व राष्ट्रिय खेलाडीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

विश्वकप छनोटका लागि पोखरा आएको फुटबल टोलीले पोखरामा माघ २१ गते सम्म पोखरामा प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फा टिम तयारीका संयोजक मधुसुदन उपाध्यायले जानकारी दिएका छन ।

टिमको तयारी वारे जानकारी दिंदै फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले पोखराको मैदानमा आएर प्रशिक्षण गर्न पाउँदा टिमको मनोवल उच्च रहेको बताए । काठमाडौं वाहिर गएर प्रशिक्षण गर्नका लागि बारम्वार आफूले भन्दै आएको बताउँदै पोखराको सुविधा सम्पन्न मैदानमा आएर प्रशिक्षण गर्न पाउँदा टिमको ‘पर्फमेन्स’मा समेत सुधार आउने उनले बताए । उनले भने–“मैले ३ महिना अघि देखिनै भन्दै आएको कुरा पुरा भएको छ र टिम निकै उत्साहित भएर पोखरा आएको छ ।” विश्वकप छनोटका लागि घरेलु मैदानमा हुने प्रतियोगिताले सुखद नतिजा दिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

यता टिमका सदस्य विराज महर्जनले पोखरा रंगशालाको फुटबल मैदान निकै उच्च स्तरको रहेको भन्दै प्रशंसा गरे । अहिले पोखरा आउन पाउँदा टोलीका निकै उत्साहित रहेको बताउँदै उनले पोखरा जस्तो वातावरणमा प्रशिक्षण गर्न पाउँदा छनोट खेलमा सुखद नतिजा दिने बताए । उनले टिमको मनोवल बढाउन विदेशको प्रशिक्षण आवश्यक रहेको बताउँदै राष्ट्रिय खेलकुद परिषद वा एन्फाले यसबारे यथासिघ्र सोच्न आग्रह समेत गरे ।


ADVT Pokhara Marathon
