
पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय टोलीलाई आज पोखरामा स्वागत गरिएको छ ।

पहिलो पटक प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई नेपाल फुटबल संघ कास्कीले स्वागत गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व सहायक महासचिव गणेश भट्टराईले टोलीका सदस्यहरुलाई होटल कुटीमा स्वागत गरेका थिए ।

माघ २१ गते सम्म पोखरामा रहेर बन्द प्रशिक्षणमा रहने टोलीमा ३५ खेलाडी र ९ जना अफिसियल रहेका छन । विश्वकप छनोट खेलको तयारीका लागि आएको टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेको एन्फा टिम तयारीका संयोजक मधुसुदन उपाध्यायले पोखरा स्पोर्टसलाई बताए ।

राष्ट्रिय टोली भोली (शुक्रवार) बाट पोखरा रंगशालामा प्रशिक्षणको शुरुवात गर्ने भएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

