पोखरामा फागुनको पहिलो साताबाट मुख्य मन्त्री कप भलिवल प्रतियोगिता

पोखरा स्पोर्टस । पोखरामा फागुनको पहिलो साताबाट प्रथम मुख्य मन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला स्तरिय भलिवल प्रतियोगिता–२०७७ हुने भएको छ ।

प्रतियोगिताको आयोजक कास्की जिल्ला भलिवल संघले एक पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो । पोखरा रंगशालाको भलिवल खेल मैदानमा फागुन ४ देखि ८ गते सम्म प्रतियोगिता आयोजना हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन । अध्यक्ष पराजुलीले यो प्रतियोगिताले गण्डकी प्रदेशका लागि उत्कृष्ट महिला तथा पुरुष टिम निर्माण गर्ने बताएका छन ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकूदको पूर्व तयारी अनुरुप हुन लागेको उक्त प्रतियोगिता खेलाडी प्रतिभा छनौटको रुपमा लिइएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताएका छन । उनले भने–“यो प्रतियोगिता मात्रै नभई नवौं राष्ट्रिय खेलकुदका लागि ११ जिल्लाबाटै उत्कृष्ट महिला तथा पुरुष खेलाडीको छनोट गर्ने राम्रो अवसर समेत हो ।”

सो अवसरमा नेपाल भलिवलका केन्द्रिय सचिब डिवी नेपालीले नेपालको राष्ट्रिय खेल भलिवल खेलको विकास लागि यो प्रतियोगिता सहायक हुने धारणा राखे । उनले प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई नवौको तयारीका लागि एक महिनाका लागि वन्द प्रशिक्षणमा राखेर थप प्रशिक्षण दिइने बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक खगेन्द्र गौचनले प्रतियोगितामा करिव ५४ लाख ३४ हजार खर्च लाग्ने र वचत करिव ६५ हजार हुने जानकारी दिए । प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले नगद २/२ लाख, उपविजेता टिमले १/१ लाख तथा तेश्रो हुने टिमले ५०/५० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गौचनले जनाएका छन । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद ५/५ हजार, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले समेत नगद ५/५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close