थ्रि अन थ्रि बास्केटबल : टिम रावत र भीएसलाई उपाधि

काठमाडौं सम्वाददाता । टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । टिम रावत छात्र तथा भीएस छात्रामा पहिलो भए ।

घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको छात्र फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ ले हराउदै तेश्रो भयो । पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

छात्राको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ ले पन्छायो । साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले पाखा लगायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार पाए ।

छात्रमा टिम रावतका सम्राट भूमि तथा छात्रामा भीएसकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । छात्रमा भीएसका राजीव आले तथा छात्रामा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर राजीवले ५१ तथा सम्झनाले ३१ स्कोर गरे । चारैले जनही २ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उप कप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पोन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए) का प्रबन्ध निर्देशक सुशिल थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही १० हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा नेपालले पुरुषमा कांस्य तथा महिलामा रजत जितेको थियो । त्यसै अवसरमा पीएचसीएलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

तीनदिने प्रतियोगिताको छात्र ३२ तथा छात्रामा १६ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close