पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेश फुटबल संघको पुनर्गठन तयारीका लागि भेला बोलाएको छ ।
गठन भएको १३ महिना सम्म पनि धरम बहादुर लामिछाने अध्यक्ष रहेको कार्यसमितीले मान्यता नै नपाई एन्फाले पुनर्गठनको तयारीका लागि भेला बोलाएको हो । २०७६ कार्तिक २६ गते एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितीमा गठन भएको गण्डकी प्रदेश फुटबल संघ १३ महिना सम्म एन्फाले कार्यसमितीलाई अनुमोदन नगरेको बताउछन अध्यक्ष लामिछाने ।

यहि पुष १७ गते एन्फाले प्रदेश संघको पुनर्गठनका लागि वोलाएको भेला बारे आफू अनिभिज्ञ रहेको बताउँदै अध्यक्ष लामिछानेले भने–“मलाई अध्यक्ष बाट फाल्ने खेल हुँदैछ ।” अनुमोदनका लागि समिती गठन बारे पठाएको प्रतिवेदन समेत १३/१४ महिना सम्म एन्फाबाट कुनै जवाफ नआएको उनले बताए । स्वयं केन्द्रिय अध्यक्ष शेर्पा र उपाध्यक्ष कृष्ण थापा सहित उपस्थित रहेको भेलाले गठन गरेको कार्यसमितीलाई अनुमोदन नर्गनु आपत्तिजनक रहेको बताउँदै अध्यक्ष लामिछानेले प्रश्न गर्दै भने–“सोही समयमा गठन गरिएको प्रदेश १ र २ लाई अनुमोदन गरियो हामीलाई किन गरिएन ?” फुटबलमा गएर फुटबलका लागि चुल्हो बाल्नु नभएको प्रतिक्रिया दिंदै एन्फामा गलत परम्परा र राजनितिक खेल संस्थागत गर्न खेजिएको आरोप उनले लगाए ।
तर यता एन्फाका अध्यक्ष शेर्पाले प्रदेश गठन भएको ६ महिना सम्म पनि अनुमोदनका लागि कुनै पत्र वा प्रतिवेदन केन्द्रमा नआएकोले भेला बोलाइएको बताए । उनले भने–“त्यो कार्यसमती तदर्थ मात्रै थियो, त्यो पनि ६ महिनाका लागि मात्रै, न त पत्र आयो न त प्रतिवेदन अनि कसरी अनुमोदन गर्ने ?” गठन भएको प्रतिवेदन १३ महिना पछि मात्रै केन्द्रमा प्राप्त भएको बताउँदै तदर्थ समितीको अवधी भनेको ६ महिना सम्ममात्रै रहेको बताए ।
गत वर्ष पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरिय लिग फुटबलमा समेत लामिछाने नेतृत्वको कार्यसमितीको कुनै भुमिका नदेखाई मौन बसेको बताउँदै अध्यक्ष शेर्पाले यस्तो अवस्थामा प्रदेशको फुटबल गतिविधीमा समेत असर पुग्ने बताए । १७ गतेको भेलाका लागि एन्फाले प्रकाश पगेनीलाई केन्द्रिय प्रतिनिधीका रुपमा पठाइएको जानकारी दिंदै अध्यक्ष शेर्पाले अव प्रदेश संघ पुनर्गठनको तयारी शुरु हुने बताए ।
एन्फा अध्यक्ष शेर्पाले आफ्नो स्वेच्छचारिता ढङ्गले गण्डकी प्रदेश संघ तदर्थ समितीलाई मात्रै भङ्ग गर्न लागेको एन्फाका एक पदाधिकारीले बताए । उनले भने–“सँग–सँगै जस्तो गठन भएको प्रदेश १ ले अझै केन्द्रमा प्रतिवेदन वुझाएको छैन तर अध्यक्षज्यूले गण्डकी प्रदेश लाई मात्रै चासो दिनुभयो ।” उनले तदर्थ समिती पुनर्गठन गर्ने हो भने प्रदेश १ को पनि गुर्नपर्ने र सवैलाई एकैनजरका साथ हेर्न अध्यक्ष शेर्पालाई आग्रह समेत गरे । एन्फा भित्र अध्यक्षले आफूलाई मन नर्पने व्यक्तीलाई पाखा लगाउने खेल मात्रै भइरहेको भन्दै उनले दुखेसो समेत पोखे ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितीमा २०७६ कार्तिक २७ गते लामिछानेको अध्यक्षतामा २१ सदस्यिय गण्डकी प्रदेश समिती गठन गरेको थियो । जसको उपाध्यक्षहरुमा मुक्त राना (स्याङ्गजा), लोकेन्द्र गुरुङ (लमजुङ्ग) र मिलन गुरुङ (कास्की) र महासचिबमा दिपेन्द्र श्रेष्ठ (गोर्खा) तथा सचिबमा रमेश कार्की (कास्की)रहेका थिए ।
