प्रधानमन्त्री कप महिला क्रिकेट : कर्णाली माथि एपीएफको सहज जित

पोखरा स्पोर्टस । साविक विजेता विभागीय टोली एपीएफले दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह ‘ए’ मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार दिनको दोस्रो खेलमा कर्णालीलाई २ सय ४ रनले पराजित गरेको छ । खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३१ रनमा सिमित हुनपुग्यो ।

कर्णालीका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहदै ५ बनाइन् । बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हातपार्दा राजमती ऐरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १–१ विकेट लिए ।

त्यसअघि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर पूरै मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सिता राना मगरले कप्तानी पारी खेलिन् । टिमका लागि सर्वाधिक धेरै रन बनाएकी उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन् । यस्तै सितालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनिङ गरेकी ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन् ।

बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १–१ विकेट लिन सफल भएका थिए । प्रतियोगितामा आईतबार पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशको सामना गर्नेछ भने दोस्रोले खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close