
पोखरा स्पोर्टस । दाङको लमहीमा शुरु भएको महिला प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ ।
शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो । खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्त लक्ष्यलाई १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन् । अविजित रहेकी उनले ४२ बलको सामनागर्दै २ चौका सहित उक्त रन बनाएकी थिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् ।
११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन् पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रनको योगदान गरिन् ।
त्यस अघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो । प्रदेश २ का लागि ओपनिङ ब्याटिङ गरेकी अनुराधा चौधरी र सना प्रविनले समान २१–२१ रन बनाएका थिए । त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।
बलिङतर्फ लुम्बिनी प्रदेशकी सुष्मिता भुषालले सर्वाधिक ४ विकेट हात पारिन् यस्तै कप्तान नेरी थापा, स्वतिका बजगाइ र गीता गोसाईले पनि समान १–१ विकेट लिए ।
प्रतियोगितामा ७ प्रादेशिक टोली सँगै विभागीय टोली एपीएफको सहभागिता रहेको छ । दुई समुहमा विभाजित भएका मध्ये समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।
