
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदलाई पर्यटन संग जोडनुपर्ने बताउनुभएको छ ।
पोखरा रंगशालामा शनिबार कास्की जिल्ला स्क्वास संघका पदाधिकारीहरुको भेटमा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“पोखरा पर्यटनको केन्द्र हो, पोखरामा हुने खेलकुदलाई पर्यटन संग जोड्न सक्यौ भने अन्तर्राष्ट्रियकरण गर्न समेत सहजता हुन्छ ।”

पोखरामा आउने पर्यटकको वसाई लम्वाउन र यहाँको खेलकुदको प्रचार–प्रसार संगै सञ्चालन खर्च समेत उठाउन स्पोर्टस टुरिजमको अहम भूमिका हुने बताउँदै सदस्य सचिब सिलवालले यसलाई नेपालका डिप्लोमेट लेभलमा समेत अघि वढाउन आग्रह गर्नुभयो । पोखरामा बनेका खेलकुद पुर्वाधार भने जस्तो गरि अझै प्रयोगमा आउन नसकेको बताउँदै उहाँले नयाँ खेलकुद ऐनले खेलक्ुद विकासलाई स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेकोले सात वटै प्रदेशमा राखेपले नयाँ केन्द्र निर्माण तयार गर्ने बताउनुभयो ।
भेटघाटका अवसरमा राखेप सदस्य सचिब सिलवालले स्क्वास कभर्ड हल निर्माण सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
स्क्वास संघका पदाधिकारीहरुले निर्माण हुन वाँकी रहेका दुई वटा कोर्टहरु सम्पन्न गर्न १ करोड रुपैयाँ आवश्यक भएकोले सहयोगका लागि आग्रह गरेका थिए । संघका सचिब प्रविन पालिखेले सवै कोर्टहरु निर्माण गर्न सके संघले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता समेत आयोजनागर्ने बताउनुभयो । उहाँले भन्नु्भयो–“हामी यस क्षेत्रको स्क्वास खेलको विकास संगै खेलाडी उत्पादनका लागि अघि वढ्न चाहन्छौ राखेपले आवश्यक सहयोग गर्न आग्रह गर्छु ।”
राखेपका सदस्य राजेश गुरुङको उपस्थितीमा भएको भेटघाट कार्यक्रममा संघका अध्यक्ष पुष्पराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, संघका सहसचिब सन्तोष घिमिरे लगाएतले अधुरो रहेको स्क्वास पूर्वाधार निर्माणमा सदस्य सचिब सिलवाललाई सहयोगका लागि आग्रह गरेका थिए ।

पोखरामा २०५९ सालमा स्व.राम प्रसाद कोइराला आफ्नो व्यक्तिगत लगानीमा शुरु गरेको स्क्वास खेलको इतिहास रहेको छ । पोखरा रंगशालामा करिव २ करोड ५० लाखको खर्चमा एउटा कोर्ट सहित अन्य पूर्वाधार गरि अन्तर्राष्ट्रियस्तर कभर्डहल निर्माण भएको छ । कभर्डहल निर्माणमा गण्डकी प्रदेश सरकारको ६० लाख, पोखरा महानगरपालिकाको ५ लाख र राखेपबाट ५ लाख प्रदान गरिएको छ भने अन्य निर्माण खर्च भने स्क्वासका पदाधिकारी तथा निजी क्षेत्रबाट भएको हो ।
