माछापुच्छ्रेलाई पराजित गर्दै सांग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन

पोखरा स्पोर्टस । सुदिप पौडेल र अरुण अधिकारीको महत्वपूर्ण साझेदारी तथा कप्तान विपिन खत्रीले कसिलो बलिङ गरेपछि सोमबार माछापुच्छ्रे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विपिन खत्रीले पुरै १० ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएपछि माछापुच्छ्रे क्रिकेट क्लब १२१ रनमा समेटिएको थियो ।

माछापुच्छ्रेका भरपर्दा व्याट्सम्यान कप्तान दिपेश खत्री र अभिषेक थापा सस्तैमा पेभेलियन फर्किएपछि जितबाट टाढिएको थियो । सांग्रिलाका कप्तान विपिनले खत्री र थापाको विकेट लिएपछि माछापुच्छ्रे दबावमा परेको थियो । खत्रीले ३९ बल खेल्ने क्रममा २१ रन मात्रै जोडे । उद्घाटन खेलमा पोखरा क्रिकेट क्लब विरुद्ध उनले शतकीय पारी खेलेका थिए । अभिषेक थापा पनि सस्तैमा आउट भएपछि धरासायी बनेको माछापुच्छ्रेलाई अमृत गुरुङ र तेजेन्द्र घर्तीमगरले सम्हल्ने प्रयास गरे । तर उनीहरुले पनि क्रमश १९ र २१ रनमै क्रिज छोडेर गएपछि माछापुच्छ्रेले जितको आश मारिसकेको थियो । सांग्रिलाका बलर विपिनले १०–२–२५–४ को प्रदर्शन रह्यो । विकास क्षत्रीले पनि ९ ओभरमा दुई मेडन राख्दै २८ रन दिएर ३ विकेट आफनो नाममा लेखाउँदा सुदिप पौडेलले पनि दुई विकेट लिए ।

पोखरा रगंशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको सांग्रिला क्रिकेट क्लबले ३५.१ ओभर खेल्दै १४९ रनको स्कोर तयार पारेको थियो । चौथो विकेटको लागि सुदिप पौडेल र अरुण अधिकारीले ६६ रनको साझेदारी गर्दै सम्मानजनकस्थिति तर्फ बढाएका थिए । अधिकारीले ३२ रन बनाउने क्रममा ५८ बल खेल्दै ४ चौका र १ छक्का हिर्काए । सुदिपले पनि ३९ रन जोड्ने क्रममा ७० बल खेल्दै तीन चौका हाने । कप्तान विपिन खत्री भने १३ बलमा आउट हुन पुगे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दिपेश खत्री, विकास क्षत्री, अभिषेक थापा, विपिन खत्री, सुवास भण्डारी, नितेश गिरी र विपिन खत्री म्यान अफ दि म्याचको हकदार भए । बेष्ट व्याट्सम्यानको रुपमा अभिषेक थापा घोषित हुदाँ बलरबाट अमृत गुरुङ घोषित भएका थिए । अफिसियल आशिष बरालका अनुसार उदीयमान खेलाडी अभिषेक थापा भए भने म्यान अफ दि सिरिजको पुरस्कार विपिन खत्रीले प्राप्त गरे ।

विजेताहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल, सचिव दिपेन्द्रप्रताप चन्द तथा कोषाध्यक्ष एवं संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी) लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close