पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा होला त स्विमिङ र शुटिङ खेल ?

बजेटका लागि अर्थ मन्त्रालय संग लविङ गर्दैछौं–मन्त्री विश्वकर्मा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्विमिङ र शुटिङखेल हुने नहुने बारे अझै अन्यौल बनेको छ ।

एक वर्ष अघि नै पोखरामा नवौं राष्ट्रिय खेलकुद घोषणा भए पनि स्विमिङ र शुटिङका संरचना निर्माण नहुँदा यि दुई खेल वारे अझै अन्योल बनेको हो । २०७७ फागुन २० देखि २७ गते सम्म आयोजना हुने भनिएको नवौं राष्ट्रिय खेलकुद कोभिड–१९ का कारण सर्ने निश्चित प्रायः भएको छ । यदि फागुनमा नवौं हुन्थ्यो भने स्विमिङ र शुटिङ खेल पोखरामा नहुने समेत निश्चित थियो । गत चैतमा नै राष्ट्रिय खेलकुद परिषदले यि दुवै पूर्वाधारको शिलन्यास गर्ने तयारी गरेको भए पनि कोभिडका कारण सवै कार्यक्रम स्थगन भएको थियो ।

पोखरा रंगशालामा निर्माण हुने स्विमिङ र शुटिङ पूर्वाधारको निर्माणका लागि राष्ट्रिय खेदकुद परिषद (राखेप)ले डिपिआर समेत तयार गरिसकेको छ । पोखरा रंगशालामा निर्माण हुने यि दुई पूर्वाधार मध्ये स्विमिङ पुलका लागि करिव ३७ करोड खर्च हुने जनाइएको छ । जस मध्ये पहिलो फेजमा २० करोडको काम सम्पन्न गर्ने लक्ष्य राखेपले लिएको छ । कुल ३७ करोड मध्ये २५ वाई २५ मिटर लम्वाई हिटिङ स्विमिङ पुल र दुई वटा भवन निर्माण हुनछन । तर पहिलो चरणमा २० करोड खर्चिएर स्विमिङ पुल र एउटा भवन सम्पन्न गर्ने लक्ष्य राखेपको छ । स्विमिङ पुल अन्तर्राष्ट्रियस्तरको कभर्ड सहितको निर्माण हुनेछ ।

त्यसै गरि शुटिङको समेत डिपिआर तयार भइसकेको छ । शुटिङका लागि राखेपले १४ करोड खर्च गर्नेछ । पूर्वाधार निर्माण सँगै शुटिङ हलमा आवश्यक इलोक्ट्रो मेकानिकल सामाग्री समेत जडान हुनेछन । यि दुवै पूर्वाधारका लागि यूवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा ५०–५० लाख मात्रै विनियोजन गरेको छ । करौडौको कामका लागि ५०–५० लाख मात्रै विनियोजन भएपछि मन्त्रालयले टेन्डरका लागि अर्थ मन्त्रालय संग स्विकृती माग्ने तयारी गरिरहेको यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले पोखरा स्पोर्टसलाई बताउनुभयो । उहाँले भन्नुभयो–“यि दुई पूर्वाधार मात्रै होइन देशभरि निर्माण हुने पूर्वाधारका लागि आवश्यक बजेटका लागि अर्थ मन्त्रालय संग लविङ गर्दैछौं ।” उहाँले कोभिडका कारण यतिबेला केही समस्या रहेको समेत बताउनुभयो ।

यता राखेप सदस्य सचिब रमेश कुमार सिलवालले वजेटको सुनिश्चितता नभईकन टेन्डर आह्वान नगर्न अर्थ मन्त्रालयले भनेकोले टेन्डर आह्वानमा ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो–“यस चालु आवमा समेत थोरै बजेट विनियोजन भएको र स्रोतको सुनिश्चतताका लागि अर्थ मन्त्रीज्यू र यूवा तथा खेलकुद मन्त्रीज्यू सँग छलफल भइरहेको छ ।” अव सबै कुरा लगभग टुङ्गिने अवस्थामा रहेकाले हप्ता दश दिन भित्रै दुवै पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान हुने उहाँले बताउनुभयो ।

तर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने निश्चित बनेपछि यि दुई पूर्वाधार निर्माण प्रक्रिया शुरु हुने विश्वास व्यक्त गर्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ । उहाँ भन्नुहुन्छ–“म सवै अन्योलतालाई तोड्न चाहन्छु, असम्भव भन्ने केही छैन, १३ औं दक्षिण एशियाली खेलकुद (साग)को सिमित अवधीमा पनि हामीले काम गरेका हौं र साग सफल बनाउने काम गरेका थियौं ।” उहाँले १३ औं सागमा गरेका काम नवौंका लागि रिहर्शल मात्रै भएको बताउँदै दुवै संरचना ८ महिना भित्रै निर्माण सम्पन्न गराई छाड्ने बताउनुभयो ।

छैन हक्कीको पूर्वाधार
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा अन्तर्राष्ट्रियस्तरको हक्कीको पुर्वाधार समेत छैन । नेपाल हक्की संघले पोखरामा टर्फ सहितको अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण गर्न जग्गाको माग गरिरहेको छ । विसं २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुदमा हक्कीको प्रतियोगिता पृथ्वी नारायण क्याम्पसको मैदानमा आयोजना भएको थियो । गण्डकी प्रदेशमा हक्की खेलका लागि सम्भावना रहे पनि खेलाडीहरु राम्रो पूर्वाधार नहुँदा प्रशिक्षणका लागि भौतारिरहनु अवस्था समेत रहेको छ । पोखरा महानगर पालिका वडा नं ५ को खेल मैदान हक्कीका लागि तयार गर्ने भनिएपनि त्यो काम अघि वढ्न सकेको छैन ।

गल्फ कहाँ खेल्ने ?
यसै गरि गण्डकी प्रदेशमा गल्फको समेत पूर्वाधार छैन । नवौंको लागि अर्को आवश्यक गल्फको पूर्वाधार मध्ये एक हो । गण्डकी प्रदेश सरकारले विगत ३ वर्ष देखि गल्फको पूर्वाधार निर्माणका लागि जग्गाको खोजी गरिरहेको भए पनि त्यो टुङ्गोमा पुग्न सकेको छैन । प्रत्येक वर्ष ५०–५० लाख विनियोजन गरेको प्रदेश सरकारले चालु आवमा समेत गल्फका लागि ५० लाख विनियोजन गरेको छ । तर गल्फका लागि भने जस्तो जग्गा नहुँदा गल्फको पूर्वाधार कहाँ बनाउने भन्ने बारे निश्चित हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close