
पोखरा स्पोर्ट्स । पोखरा महानगरपालिका वडा नं १७ पावर हाउस पश्चिमतर्फको खाली भुभागमा रंगशाला निर्माण हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नं १७ ले रंगशाला निर्माणका लागि पहल गरेको हो । वडा कार्यालयले गण्डकी प्रदेश सरकार र संघिय सरकारलाई मैदान निर्माणका लागि बजेट व्यवस्था गर्न पहल शुरु गरेको वडा सदस्य राधिका शाही योगीले बताउनुभएको छ । पोखरा महानगरपालिका १७ को कार्यालयले रंगशालाका लागि विस्तृत परियोजना निर्माण (डिपिआर) समेत तयार गरि प्रदेश सरकार र संघिय सरकारलाई पठाएको छ ।
पोखरा १७ ले तयार गरेको विस्तृत परियोजनामा पावर हाउस रहेको भन्दा पश्चिम तर्फको करिव १७७ रोपनी प्रती जग्गा मध्ये १५४ रोपनी जग्गामा रंगशाला निर्माण गर्न लागेको योगीले बताउनुभयो । “अहिले हामीले तयार गरेको डिपिआरमा करिव ३ करोड ५० लाख खर्च देखिन्छ”, उहाँले भन्नुभयो–“तर सवै खाली ठाउँ खेलकुदका लागि उपयोग गर्ने सोच रहेकोले यो खर्च ७ देखि ८ करोड सम्म पुग्न सक्छ ।”
हालका लागि उक्त स्थानमा प्यारापिट सहितको फुटबल रंगशाला सँगै वास्केटल र भलिवल कोर्ट पनि निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“हामीले यो ठाउँमा फुटबलको मात्रै नभई खेलकुदका सवै कार्यक्रमहरु आयोजना हुने गरि वहुउद्धेश्यिय रंगशालाको रुपमा निर्माण गर्दैछौं ।” उक्त स्थानमा कास्की जिल्लाकै दोश्रो उत्कृष्ट रंगशालाको रुपमा निर्माण हुने उहाँले बताउनुभयो । उहाँले त्यहाँ रहेको सवै १७७ रोपनी प्रती जग्गामा खेलकुद पुर्वाद्धार निर्माण हुने गरि उपयोग गरिने बताउनुभयो ।
खाली भुभागको दक्षिण तर्फ फुर्से खोला समेत रहेको र पर्यटकिय गन्तव्यका लागि पनि उक्त ठाउँ निकै चर्चित तथा प्राकृतिकरुपमा समेत रमणिय रहेकोले रंगशाला निर्माणका लागि पहल शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“यो रंगशाला कास्की निर्वाचन क्षेत्र प्रदेश २ (क)को रंगशालाको रुपमा निर्माण गर्न लागेका हौं ।” उक्त स्थान सम्म यातायतको पुग्ने सडक नभएकोले वडाले सडक निर्माण कार्यलाई प्राथमिकताका राखेको छ । उक्त स्थान सम्म सहज तरिकाले पुग्न र रंगशाला निर्माण प्रक्रियालाई अघि वढाउन वडा कार्यालयले सडकको समेत डिपिआर तयार गरिसकेको योगीले बताउनुभयो । सडकका लागि करिव ५० लाख खर्च लाग्ने अनुमान भएको उहाँले जानकारी दिनुभयो ।
