
पोखरा स्पोर्टस । पोखरा रंगशालामा हालै निर्माण सम्पन्न भएको टेनिस भवन सहित टेनिस क्ले कोर्ट प्रयोगमा आउन नपाउँदै भवन चिरा परेको छ भने कोर्ट प्रयोग विहिन अवस्थामा पुगेको छ ।
युवा तथा खेलकुद मन्त्रालयको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले २ करोड ४२ लाखको लागतमा निर्माण गरेको भवन र क्ले कोर्ट प्रयोगमा नआउँदै भविनमा चिरा परेको छ भने कोर्टमा पानी जमेर खेल्न नहुने अवस्थामा पुगेको हो । युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई अन्तर्राष्ट्रियस्तरको टेनिस हव बनाउन भन्दै रंगशालामा एक हार्ड कोर्ट र एक क्ले कोर्ट सहित टेनिसको पुर्वाधार निर्माणका लागि परिषद मार्फत बजेट निकासा गरेको थियो ।

काठमाडौको आर.एन.सी विल्डर्सले निर्माण सम्झौता गरेको एउटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट सहित २ सय ४० वर्ग मिटरको क्षेत्रफलमा एक तले भवन रहेको छ । भवनमा दुइ वटा चेन्जिङ रुम र करिब २ सय ५० जना दर्शक क्षमता सहितको प्यारापिट तथा शौचालय समेत रहेको छ ।
निर्माण कम्पनीले कार्य ५ महिना अघि मात्रै सम्पन्न गरेको भए पनि अहिले प्रयोग विहिन वन्न पुगेको नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले बताउनुभयो । उहाँले भन्नुभयो–“भवनको डिजाइननै गलत छ, राखेपको प्राविधिक टोलीले तयार गरेको हुनाले हामी केही वोल्ने कुरा पनि भएन, तर अहिले यो प्रयोग विहिन वन्न पुग्यो ।” “अहिले निर्माण सम्पन्न भएको ५ महिनामानै भवनमा चिरा परेको छ भने, कोठाहरु पनि कार्यालय लगाएत अन्य काममा प्रयोगमा आउन सक्दैनन”, उहाँले थप्नुभयो–“अव खेलकुदमा प्रयोग हुने भवन कस्तो बनाउनुपर्छ भन्ने कुरमा राखेपको प्राविधिक टोली अपडेट हुन आवश्यक छ ।”

यता कास्की जिल्ला टेनिस संघका सचिब नविन चालिसेले यति ठुलो रकम खर्चिएर तयार भएको भवन र कोर्टको अवस्था हेर्दा निकै दुख लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“न त भवन न त क्ले कोर्ट प्रयोगमा आउन सक्यो, प्रयोगमा ल्याउँ भन्दा पनि कोर्ट पुनः निर्माण गर्न ठूलो खर्च लाग्छ भने चिरा परेको भवन पुनः निर्माण गर्न पर्ने हुन्छ ।” कोर्ट निर्माण गर्दा विशेषज्ञको सुझाव नलिएकोले पनि कोर्टमा पानी जमेर पोखरी वनेकोले खेल्न वा प्रयोगमा ल्याउन नसकिएको उहाँको भनाई छ ।
राज्यको ठूलो लगानी खेलकुदले पर्खिरहेको समयमा यति ठूलो रकम दुरपयोग हुनु र निर्माण भएका पुर्वाधार समेत प्रयोग विहिन अवस्थमा पुग्नुले यसका सरोकारवाला पक्षहरुले वेलैमा सोच्न आवश्यक छ ।
