
पोखरा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशद्वारा एक स्थानिय तह एक खेल मैदान तथा जिल्लास्तरिय रंगशाला निर्माणका लागी पालिकाहरु संँग प्रस्ताव आह्वान गरेको छ ।
मन्त्रालयले प्रकाशित गरेको सूचनामा एक स्थानिय तह एक खेल मैदान तथा जिल्ला स्तरिय रंगशाला निर्माणका सम्वन्धी मापदण्ड २०७७ अनुसार प्रस्ताव आह्वन गरिएको जनाएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागी गाउँपालिका संगको समन्वयमा एक स्थानिय तह एक खेल मैदान निर्माणकार्य गर्न ४ करोड ६० लाख विनियोजन गरेको थियो ।
प्रदेश सरकारले एक स्थानिय तह एक खेल मैदान निर्माण अन्तरगत २३ वटा गाउँपालिका र ९ वटा नगरपालिकामा खेलकुद मैदान निर्माण गर्न १०–१० लाख गरि ३ करोड २० लाख विनियोजन गरेको थियो जसमा जिल्लास्तरिय रङ्गशाला छनोट र डिपिआर निर्माणका लागि ५० लाख रहेको छ ।
सूचनामा जनाइए अनुसार पालिकाहरुले अनुसुची १ वमोजिम १५ दिन भित्र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा निवेदन पेश गर्न भनिएको छ ।
