
पोखरा । साहसिक खेल प्याराग्लाइडिङको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का वरिष्ठ उपाध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी बसन्तराज दवाडीलाई पत्नी शोक परेको छ ।
दवाडीकी धर्मपत्नी भगवती पोखरेल दवाडीको गए राती पोखरामा निधन भएको हो । पोखरा ५ मालेपाटन निवासी ४७ वर्षिया भगवतीको उपचारको क्रममा फिसटेल अस्पतालको सधन उपचार कक्षमा असमायिक निधन भएको छ ।

उहाँको आज नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत शुभचिन्तकहरु रामघाट पुगेका थिए ।
सो अवसरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सांसद वरालले उहाँको निधनले समाजले असल नागरिक गुमाउन पुगको धारणा राख्नुभयो ।
पोखरा २१ निर्मल पोखरीमा स्व. गौरीलाल पोखरेल र आमा योगमाया पोखरेलको कोखवाट जन्मनु भएकी स्व. दवाडीका एक छोरा र एक छोरी छन । उहाँ माछापुच्छ्रे गाउँपालिकामा महिलाहरुका लागि कार्यरत संस्था आमा प्रतिष्ठान नेपालको संस्थापक कोषाध्यक्ष समेत हुनुहुन्थ्यो ।
