
पोखरा । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक तथा रेफ्रिहरु गरी करिव २ सय जनाकोे कोरोना विमा गर्ने भएको छ ।
विश्वव्यापी रुपमा कोरोनाको महामारी वढ्दै गएपछि संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा रेफ्रिहरुको कोरोना विमा गर्ने भएको हो । संघको सम्पन्न वैठकले उक्त निर्णय गरेको जानकारी दिंदै अध्यक्ष तेज गुरुङले भने–“हाल सम्म नेपालको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर खेलाडीको विमा गर्ने भएका छौं ।” संघले खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरु गरि २ सय जना भन्दा वढीको कोरोना विमा गर्न लागिएको उनले बताए ।
नेपालको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर सवै उमेर समुहका खेलाडी संगै वहालवाला प्रशिक्षक सँगै अवकास प्राप्त प्रशिक्षकहरुको समेत कोरोना विमा गर्ने निर्णय वैठकले गरेको महासचिव सन्देश रेग्मीले बताए । यो सँगै राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भुमिका निभाउनेहरु सवैको कोरोना विमा गरिने भएको उनले जानकारी दिए ।
संघले कोरोनाको कारण कुनै पनि ह्याण्डबल खेलाडीका परिवारहरु समस्यामा परेको भए उनीहरुलाई आर्थिक सहयोग गर्ने समेत भएको उपाध्यक्ष जयन्त शर्माले बताए । “लामो समय देखि वन्दा वन्दी भएका कारण खेलाडीहरु आर्थिक रुपले समस्यामा परेका हुन सक्छन” उनले भने–“यस्तो समयमा हामीले उनीहरुको मनोवल उच्च राख्न र ह्याण्डबल प्रती जागरुक वनाई राख्न सहयोग गर्ने भएका हौं ।” वैठकले सबै खेलाडीको अवस्था वारे तत्काल जानकारी गराउन जिल्ला संघहरुलाई आह्वान समेत गरेको छ ।
यसै गरी अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) बाट नेपाल ह्याण्डबल संघलाई कोभिड १९ सँग सम्वन्धित सहयोग गर्ने ६ हजार स्विस फ्रयान्क खर्च गर्नका लागि कार्यविधी बनाउने समेत भएको छ । उक्त कार्यविधी निर्माण गर्न संघका उपाध्यक्ष एवम गण्डकी प्रदेशका सांसद मोहन रेग्मीको संयोजकत्वमा ५ सदस्यिय समिती गठन गरिएको छ ।
समितीको सदस्यमा उपाध्यक्ष जयन्त शर्मा, महासचिब सन्देश रेग्मी, सचिव द्वय केशव पाठक र रत्नज्योती मानन्धर रहेका छन । सो वारे जानकारी दिंदै उपाध्यक्ष रेग्मीले समितीले एक साता भित्र कार्यविधी निर्माण गरेर आइएचएफबाट प्राप्त रकम ह्याण्डबल खेलको विकास सँगै कोरोनाका कारण समस्यामा रहेका खेलाडीहरुलाई सहयोगका लागि खर्च गरिने बताए । “यो कार्यक्रममा कुनै पनि समस्यामा रहेका खेलाडीहरु नछुटुन भन्नका लागि कार्यविधी सहित निर्माण गरेर अगाडी वढ्ने भएका हौं”, उनले भने ।
