
केशव पाठक/ पोखरा । नेपालको इतिहासमानै पहिलो पटक स्नातक तहमा खेलकुद सम्वन्धि अध्यापन हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयमा स्नातक तहमा खेलकुद विषयको अध्यापन हुन लागेको हो । पहिलो पटक अध्यापन हुन लागेको खेलकुदको विषयको पाठ्यक्रम समेत तयार भएको विश्वविद्यालयका कुलपती प्रा. डा. गणेशमान गुरुङले बताएका छन । विश्वविद्यालयमा ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ विषयमा चार वर्षको हुनेछ भने यसलाई आठ सेमेष्टरमा विभाजन विभिन्न विषयमा अध्यापन गराइनेछ ।
विश्वविद्यालयले नयाँ विषयमा अध्यापन गराउन खोजी गरे संगै खेलकुद प्राथमिकतामा परेको विश्वविद्यालयका कुलपती प्रा.डा गुरुङले बताए । उनले भने–“मुख्य मन्त्रीज्यु र आर्थिक मामिला मन्त्रीज्युले समेत खेलकुदलाई विशेष चासो दिनुभयो, यो नयाँ विषय भएकोले पनि यसलाई अगाडी वढाएका हौं ।” “विश्वविद्यालयले गर्ने कामनै नयाँ र नौलोनै होे” उनले थपे–“नेपालमा खेलकुद संधै पछाडी पारिएको विषय रह्यो, जती विकास हुनुपर्ने र विश्वमा खेलकुदको नामबाट देशलाई चिनाउन पर्ने तर त्यो हुन सकेन ।”
खेलकुद भन्ने वित्तिकै सबैलाई ‘क्रेजी’ बनाउने मात्रै बनाउँदैन यसले रोजगारका सम्भावनाका ढोकाहरु खुल्ने बताउँदै बताउँदै प्रा.डा. गुरुङले भने –“संसारमा खेलकुदबाट देखिनुपर्ने तर अध्ययन र अन्य सुविधा भने शुन्य छ, अध्ययनले नै सबै कुरा निर्खाने भएकोले यो विषय महत्वपुर्ण लाग्यो ।” संधै पछाडी परेको विषयलाई विश्वविद्यालयले अगाडी बढाएकोले आफु निकै उत्साहित भएको उनले बताए । “पाठ्यक्रम समेत निकै राम्रो बनेको छ, साथीहरुले यसमा निकै मेहनत गर्नुभयो”, उनले भने ।
यति बेला विश्वविद्यालय स्थापनका लागि पोखरा महानगर वडा नं ३२ स्थित स्याल टहरोको १८० रोपनी, सोही वडाको मालेपाटनमा ३५ र स्वतोमा १३६ रोपनी जग्गाको खोजी समेत भइसकेको प्रा डा गुरुङले जानकारी दिए । उनले भने–“यो लकडाउनको समयमा समेत धेरै कामहरु सम्पन्न भए अवको एक सातामा गण्डकी विश्वविद्यालयको नाममा जग्गा प्राप्ती हुँदैछ ।” विश्वविद्यालयले विभिन्न १४ वटा विषयमा अध्यापन गराइने जानकारी यस अघिनै दिइसकेको छ । “अव लगभग तयारी पुरा हुँदैछ, अव प्रदेश सरकारले भने जस्तै गरि बजेटलाई समेत अगाडी वढाएमा धेरै सजिलो हुनेछ”, उनले भने ।
खेलकुद विकास पाठ्यक्रमका संयोजक डा. प्रकाश प्रधानले पोखरामा खेलकुदको विषयमा अध्यापन हुुनु गौरवको विषय भएको बताए । “पोखरा आफैमा खेलकुदका लागि निकै सम्भावना बोकेको ठाउँ हो, जुन विषय हामीले तयार गरेका छौं, यो विश्व वजारमा विक्ने विषय र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरेका छौं” उनले भने–“अहिले सम्म नेपाली खेलकुदको नेतृत्वमा अध्ययनको कमी भएकोले नै खेलकुदको विकास पछि परेको हो, रंगशाला निर्माण भएर मात्रै खेलकुदको विकास हुँदैन खेलकुदको जग वुझ्न आवश्यक छ ।”स्पोर्टस साइन्समा विभिन्न विषय हुने भए पनि म्यानेजमेन्ट तहमा ८० प्रतिशत खेलकुद र २० प्रतिशत मुलधारका विषय समावेश गरिएको डा. प्रधानले बताए ।
कुन कुन खेल र विषय समावेश छन
विभिन्न सेमेष्टर अन्तरगत भलिवल, फुटबल, तेक्वान्दो, कराते, ह्याण्डबल, एथ्लेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, परम्परागत आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ । यसै गरि स्पोर्टस म्यानेजमेन्टमा मार्केटिङ, म्यानेजमेन्ट अफ लिजर रिक्रियशन, स्पेक्टेटर म्यानेजमेन्ट, स्पोर्टस इकोनोमिक्स, फन्डिङ इन स्पोर्टस, स्पोर्टस टुरिजम, स्पोर्टस इन ग्लोवलाइजेशन, स्पोर्टस इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्टस इन्डष्ट्रिज, एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन रहेका छन ।
त्यसै गरि लिडरशिप इन स्पोर्टस, स्पोर्टस इन इभेन्ट म्यानेजमेन्ट, स्पोर्टस ल एण्ड रिस्क म्यानेजमेन्ट, स्पोर्टस फेसिलिटी म्यानेजमेन्ट, इन्टरप्रिनियरशिप इन स्पोर्टस, क्यारियर डेभलप्मेन्ट, सस्टनेवल डेभलप्मेन्ट, इथिक्स इन स्पोर्टस, वोमन एण्ड स्पिसियवल स्पोर्टस, गभरमेन्ट इन स्पोर्टस लगाएतका छुट्टा–छुट्टै विषयगत अध्यापन हुने डा प्रधानले बताएका छन । “यो निकै महगों विषय समेत हो, यसको कार्यान्वयनमा सबैको ध्यान पुगन आवश्यक छ”, उनले भने ।
यसै गरि मुलधारका विषय अन्तरगत अंग्रेजी, स्ट्राटिक्स, क्म्पुयुटर एप्लिकेशनका विषय समावशे छन भने योगा साइन्सको विषयलाई समेत समेटिएको डा. प्रधानले बताए । “खेलकुद म्यानेजमेन्ट आफैमा निकै गहिरो विषय हो” स्पोर्टस साइन्समा जर्मनीबाट पिएचडी गरेका डा. प्रधानले भने–“हामीले समावेश गरेका विषयहरु सायदै दक्षिण एशियाली राष्ट्रमा समेत पाउन मुस्किलनै पर्छ ।”
यस अघि नेपालमा त्रिभुवन विश्वद्यिालयमा माष्टर्स तहमा ऐच्छिक रुपमा स्पोर्टस साइन्स विषयको अध्यापन हुँदै आएकोमा स्नातक तहमानै यो विषय शुरु हुन ऐतिहासिक रहेको बताउँछन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ । उनले भने–“यो निकै नै खुसीको विषय हो, अव खेल क्षेत्रले ठुलो फड्को मार्छ ।” पाठ्यक्रम विकासका लागि सदस्य समेत रहेका उनले स्नातक तह उर्तिण गरिसकेपछि पनि माष्टर्समा अन्य विषय लिएर पढ्न सक्ने गरि पाठ्यक्रम तयार गरिएको बताए ।
खेलकुदको व्यवस्थापन र खेलकुदका लागि नयाँ जनशक्ती उत्पादनमा यो विषय महत्वपुर्ण रहेको बताउँदै उपाध्यक्ष गुरुङले विदेशका विद्यार्थी आर्कषण गर्न पनि यो विषय महत्वपुर्ण हुने बताए । उनले भने–“यो नेपालका विद्यार्थीका लागि मात्रै सिमित छैन, विदेशका विद्यार्थीका लागि लक्षित रहेकोले विश्वविद्यालय विदेशी विद्यार्थी आर्कषण गर्ने थलो समेत बन्ने छ ।”

नेपाली खेलाडीहरुले खेलाडी नै बनेर यहाँ जीवीकोपार्जन गर्न नसकेर विदशीनु परेको तितो सत्य नै हो । एक से एक प्रतिभावान खेलाडी विनेशीने क्रम रोकिएको छैन पनि । खेलाडीहरुले यो विषय लिइ डिग्री हासिल गरे पछि रोजगारीको ग्यारेण्टी भएमा मात्र यो विषयले सार्थकता पाउँछ, होइन भने यो एउटा रहर मात्र हुने निश्चित छ ।
घरको भात खाएर राष्ट्रको लागि मेडल जित्ने खेलाडीले के पाए ? यो प्रश्नको उत्तर खोजीनु पर्छ । राष्ट्रवादले मात्रै पनि पेट भरिन्न ।
खेलकुदमा ब्याचलर गर्ने राम्रो कुरा हो तर यो खेलको छनौट हो भने ठिक होइन। खेलको छनौट गर्दा नेपाली खेलाडीले राम्रो गर्न सक्ने क्षमता भएका खेल छनौट भयो भने मात्र औचित्य हुन्छ। समयक्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउन सफल हुन्छ र रोजगारीको पनि अवसर राम्रो हुन्छ।