
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले छुम्वी लामा र धर्मराज गिरीलाई केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट दुवैलाई क्यानमा नियुक्त गर्न राखेप सदस्य सचिब रमेश कुमार सिलवालले क्यानमा सिफारिस गरेका थिए । क्यानको आफ्नो विधान अनुसार परिषदबाट दुई जना नियुक्ती गर्ने प्रावधान अनुरुप छुम्वी र गिरीलाई सदस्यमा नियुक्ती गरेको जनाइएको छ ।
पोखरा प्रिमियर क्रिकेट लिग (पिपिएल)को आयोजक क्विइन्स इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक समेत रहेका छुम्वीले २०६८ सालमा क्यानको कार्यालय प्रमुख र २०६९ सालमा संचालन प्रमुखमा रहेर काम गरिसकेको अनुभव छ । करिव एक दशक देखि नेपाली क्रिकेटको सामिप्यमा रहि कार्य गरेका उनले भने–“अव मेरो काम नेपालको व्यवसायिक क्रिकेट खेलको विकासमा काम गर्ने नै हो ।” उनले आफ्नो नियुक्तीका लागि राखेप सदस्य सचिब सिलवाललाई धन्यवाद दिएका छन ।
नेपालमानै पहिलो पटक महिला क्रिकेट लिग समेत आयोजना गरेका छुम्वीले विश्व क्रिकेट लिग च्याम्पियन्स अन्तरगत नेपालमा आयोजना भएको केन्या र नामिवियाको खेल आयोजना गर्न समेत भुमिका खेलेका थिए । उनले परिषदकै सहकार्यमा मुलपानी क्रिकेट मैलानको मर्मतमा समेत भुमिका खेलेका थिए ।
