
केशव पाठक/ पोखरा ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्व फुटबल महासंघ (फिफा) अन्तरगत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ भिडावारीमा फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने भएपछि स्थानिय संघ संस्था तथा सरोकारवालाहरु निकै उत्साहीत भएका छन ।
एन्फाले भिडावारी गर्ने उक्त ट्रेनिङ सेन्टरको विस्तृत परियोजना (डिपिआर) समेत निर्माण तथा पहिलो वर्षका लागि १७ करोड ५० लाख समेत प्रस्ताव गरि फिफामा स्विकृतीका लागि पठाएपछि उनीहरु उत्साहित बनेका हुन ।
कास्कीका चार वटा गाउँपालिका मध्येको माछापुच्छ्रे गाउँपालिका पर्यटन, कृषी तथा जैविक विविधताका लागि निकै महत्वपुर्ण रहेको छ । माछापुच्छ्रे गाउँपालिका पोखरा महानगरपालिका, अन्नपुर्ण र मादी गाउँपालिकाको सिमानापर्छ भने माछापुच्छ्रे हिमाल यहि पालिका अन्तरगत पर्छ । माछापुच्छ्रे हिमालको काख र मर्दी खोलको तटमा निर्माण हुने यो परियोजना भौगोलिक र प्राकृतिक हिसावले समेत निकै महत्वपुर्ण छ ।

एन्फाले करिव दुई दशक अघि पोखरामानै एन्फा एकेडेमीको निर्माण गर्ने योजना बनायो । फुटबलको भुमी पोखरेलीहरुले त्यसको स्वागत पनि गरे । तर अन्ततः त्यो परियोजनालाई अन्तै सारियो । एन्फाको त्यो बेलाको निर्णयले निराश बनेका पोखरेलीहरुका लागि यतिवेला केही शितलता भने प्रदान गरेको छ ।
परियोजना निर्माण हुने नजिकै रहेको वराह मावी विद्यालयका प्रधानध्यापक नर बहादुर गुरुङ यो निर्णयले निकै उत्साहित रहेका छन, उनी भन्छन–“यो गाउँपलिका वा कास्कीको मात्रै नभई प्रदेशको समेत ठुलो उपलव्धी हो ।” पोखराबाट केही मिनेटमा नै पुग्न सहज भएकोले पनि यो ट्रेनिङ सेन्टरले विकासको गतिलाई तिव्रता दिनपनि भुमिका खेल्ने उनको विश्वास छ ।
माछापुच्छ्रे फुटबलको विकासका लागि केन्द्र हुनेमा विश्वस्त रहेका प्रअ गुरुङ यसको निर्माणले यस क्षेत्रमा सबैको चेतनाको विकासमा सकारात्मक भुमिका खेल्ने भनाई राख्छन । उनले भने–“विकासलेनै चेतनालाई माथी उठाउँछ, लामो समय देखि पछि परेको यहाँको विकासलाई गति समेत प्रदान गर्नेछ ।” उनले विद्यालय व्यवस्थापन समितीले समेत आवश्यक परेको खण्डमा ४ देखि ५ रोपनी जग्गा दिने निर्णय गरेको उनले सुनाए । “राम्रो कामको लागि सबै एकजुट भएका छन, विद्यालय देखि यहाँको स्थानियको पनि उत्तिकै साथ छ ।”
सोही वडा अन्तरगत रहेको भुमेश्वर क्लवका अध्यक्ष भिमराज पौडेलपनि यो कुराले निकै हौसिएका छन । उनले भने–“हामीले यो परियोजना निर्माणका लागि पहल होला भनेर सपनामा पनि चिताएका थिएनौ ।” उनले थपे–“यो गाउँलेहरुका लागि पनि निकै ठुलो अवसर र गौरवको कुरा हो ।” मुलुकका लागि भावी खेलाडीको उत्पादन गर्न परियोजना निर्माण छिटो होस भन्ने चाहेको बताउँदै उनले गाउँ चिनाउन मात्रै नभई यहाँको होम स्टेको विकास र पवद्र्धनका लागि परियोजनाले भुमिका खेल्ने बताए ।
माछापुच्छ्रेमा रहेका धेरै क्लवका युवाहरु पनि यो परियोजनाको निर्माण शुरु हुनेभएपछि निकै उत्साहित रहेको बताउँदै अध्यक्ष पौडेलले यहाँको युवाहरुलाई पनि फुटबल तर्फ आर्कषित गर्न यो परियोजनाको भुमिका रहने बताउँछन । “यो परियोजनाले यहाँको पर्यटनको विकासका लागि पनि भुमिका खेल्ने भएकोले युवाहरुमा उत्साह जागेको हो”, उनले भने ।
स्थानिय क्लव भिडावारी संगम क्लवका पुर्व अध्यक्ष बलराम अधिकारीले भने–“हामी यो परियोजनाबाट निकै खुसी छौं, नेपालको नै ‘ड्रिम प्रोजेक्ट’ भिडावारी आउनुले पनि हामी निकै उत्साहित बनेका हौं ।” उनले अव समग्र प्रदेशलाई मात्र नभई विश्वलेनै यो ठाउँलाई चिन्ने उनी बताउँछन । परियोजनाको निर्माणको समाचारले सबै युवालाई सकारात्मक सन्देश दिएको बताउँदै स्थानिय क्लव र युवाहरुले पनि यो परियोजना सफल बनाउन उत्तिकै साथ र सहयोग दिने बताए ।
यो परियोजनाले विकास अवधारणा पाएको बताउँछन स्थानिय समाजसेवी टेक प्रसाद अधिकारी । “यो जुन जग्गामा बन्दै छ, यो सबै सार्वजनिक जग्गा हो”, उनले भने–“यो जग्गामा धेरैले आफु मनखुसी कमाउने गरेका थिए, राम्रो परियोजनाका आएपछि सबैले उत्साहित भएर स्वागत गरेका छन ।” “व्यक्ति कसैको नाममा तिरो–भरो भएपनि यति ठुलो परियोजना आएपछि सबैले छोड्नुपर्छ, यो भावी पुस्ताका लागि खेलाडी उत्पादन गर्ने थलो बन्ने र समग्र प्रदेशकैलागी पनि गौरव गर्ने विषय हो,” उनले भने । परियोजना निर्माण हुनेभएपछि केहीले व्यक्तिगत जग्गा समेत दिन तयार भएको बताउँदै यो निकै सुखद रहेको बताए ।
स्थानिय महिलाहरु समेत निकै उत्साहित बनेका छन परियोजनाको निर्माणको समाचारले । भिडावारी आमा समुहकी अध्यक्ष समेत रहेकी लक्ष्मी गौतम भन्छिन–“हाम्रो पालामा यस्ता ठुला परियोजना निर्माणहुनु महत्वपुर्ण नै हो, यो हाम्रा भावी सन्ततीका लागी पनि यो ठाउँमा ट्रेनिङ सेन्टर छिटो बनोस भन्ने हामीले चाहेका छौं ।” “आर्थिक सहयोग दिन नसकौंला तर निर्माणका लागि के सहयोग गर्नुपर्छ हामी महिलाहरु एकजुट छौं”, उनले भनिन ।
माछापुच्छ्रेको भिडावारी हुँदै मर्दी हिमाल ट्रेकिङ रुट यहीँबाट शुरु हुने र फुटबल ट्रेनिङ सेन्टर निर्माण पनि यहि स्थानमा हुनु महत्वपुर्ण पक्ष रहेको बताउँछन पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङ । शाहसिक खेलकुदको गन्तव्यका लागि पनि महत्वुर्ण रहेकोले यहाँ प्रशिक्षणमा हुने युवाहरुलाई आफ्नो तर्फबाट क्यानोनिङको प्रशिक्षण समेत दिइने उनले बताए । उनले भने–“खेलाडीलाई आत्मबल बढाउन पनि क्यानोनिङ सहायक बन्न सक्छ ।”
“पर्यटनका लागि खेलकुद, समृद्धीका लागि पर्यटन” भन्ने नारालाई सार्थक रुपदिन पनि यो परियोजना निर्माण कार्य छिटो शुरु हुनुपर्ने बताउँदै गुरुङले भने–“भौगोलिक र वातावरणिय हिसावले पनि यो परियोजना सोच अनरुपको स्थानमा निर्माण हुनेभएको छ ।” यहाँका स्थानिय युवाहरुमा पनि यो ट्रेनिङ सेन्टरको निर्माणले सकारात्मक सन्देश जानेमा उनी विश्वस्त छन । “अहिलेको युवामा केही न केही नयाँ सोच छ, केही गरौं भन्ने जोश र जाँगर पनि छ, खेलकुदको विकास र प्रवद्धर्नले पनि उनीहरुमा सकारात्मक सन्देश प्रवाहित हुन्छ”, उनले भने ।
