
पोखरा । अष्ट्रेलियामा रहेका पोखरेलीहरुले पोखरा रंगशालालाई पानी ट्याङ्की र सेनीटाइजर मेशिन सहयोग गरेका छन ।
कोभिड–१९ लाई मध्येनजर गर्दै अस्ट्रेलियामा रहेको पोखरा समाज अष्ट्रेलियाले दुई थान ट्याङ्की सहित सेनीटाइजर मेशिन सहयोग गरेकोे हो । पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राजु अधिकारीको संयोजकत्वमा झण्डै ४५ हजार बराबरको सहयोग सामग्री उपलब्ध भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले बताएका छन । प्राप्त सामाग्री कास्की जिल्ला टेनिस संघको संयोजनमा एक कार्यक्रमका विच पोखरा रंगशालालाई हस्तान्तरण गरिएको छ ।

यसका लागि पोखरा समाज अष्ट्रेलियालाई राखेप सदस्य गुरुङले आभार समेत व्यक्त गरेका छन । उनले कोभिड १९ को कहर जारि रहेकै बेला पोखरा रंगशाला प्रवेश गर्ने खेलाडी वा अन्य व्यक्तिहरुले हातधुन सहयोग पुग्ने बताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नम्वर १० का अध्यक्ष राजकुमार गुरुङ्ग, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, सचिव नविन चालिसे, सहयोगको संयोजन गर्ने टेनिस खेलाडी धरमबहादुर लामिछाने लगायतले पोखरा समाज अष्ट्रेलियालाई आभार व्यक्त गरेका छन । उनीहरुले कोरोना संक्रमण रोक्न केही हदसम्म सहयोग पुग्ने बताएका छन ।
प्राप्त पानी ट्याङ्की सहितको स्यानिटाइजर मेशिन रंगशाला गेटमा र रंगशालाभित्रको टेनिस कोर्टमा राखिने राखेप सदस्य गुरुङले बताए ।
