
पोखरा, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना ‘कोभिड १९’ सक्रमण फैलिन नदिन गत चैत ११ बाट लकडाउन सुरु भए पछि विभिन्न जिल्लामा खेलाडीहरु समेत समस्यामा पर्न थालेका छन ।
यहि कुरालाई मध्येनजर गर्दै चार दिन अघिमात्रै गण्डकी प्रदेशका ११ जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष सहित पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले कुनै खेलाडीलाई समस्या परेको भए आफूहरुलाई सूचित गर्न आग्रह गरेका थिए । “यो खेलाडीको चुलो निभ्न नदिने अभियान होे, म सहित सबै जिल्लाका निवर्तमान अध्यक्षहरु यो अभियानमा हुनुहुन्छ” उनले भने–“त्यही भएर हामी सबैले म्याग्दीका सात जना खेलाडीलाई सहयोग गरेका छौं ।”

निवर्तमान अध्यक्षहरु खेलाडीहरुलाई सहयोग गर्न अगाडी आएपछि म्याग्दीमा ७ जना खेलाडीहरुले आफुहरुलाई सहयोगका लागि आग्रह गरेका थिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार म्याग्दी जिल्ला खेलकुद तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको सिफारिसमा जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष कृष्ण कुमार विश्वकर्माले ७ जना खेलाडीलाई राहत वितरण गरिएको छ ।
राहत प्रदान गरिएका खेलाडीहरुमा सुरेन्द्र वर्देवा, राजकुमार परियार, सन्तोष परियार, सञ्जन बुढा, सोमा बुढा, विशाल पुर्जा, प्रवेश कार्की र शुष्मी दर्जी रहेका छन । उनीहरुलाई चामल, दाल, तेल, नुन लगाएत अन्य अत्यावश्यक खाद्यसामाग्री वितरण गरिएको छ । राहत प्रदान गरिएका सबै खेलाडी तेक्वान्दो खेलमा आवद्ध छन ।
यसरी गण्डकी प्रदेश भित्र अन्य जिल्लामा समेत खेलाडीहरुको नाम संकलन भइरहेको र उनीहरुलाई आवश्यक राहत उपलव्ध गराइने निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । उनले भने–“यदि सम्भव हुन्छ जुन जिल्ला हो त्यही जिल्ला बाट वितरण गर्नुस यदि त्यो नभए मलाई खबर गर्नुहोस, म व्यवस्था गर्छु, खेलाडीको चुलो निभ्न दिन्नौ ।”
थप समाचार
‘कुनै खेलाडीलाई समस्या भए फोन गर्नुस’–निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ (भिडियो सहित)
