
केशव पाठक,
पोखरा क्रिकेट रंगशालाको पुर्वाधार निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । पहिलो पटक गत चैत १० गते राष्ट्रिय खेलकुद परिषदले टेन्डर आह्वान गरेको भए पनि कुनै पनि निर्माण कम्पनीको प्रस्ताव नपरे पछि पुनः दोश्रो पटक म्याद थप गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रिय खेलकुद परिषदले यस आर्थिक वर्षका लागि क्रिकेट रंगशाला निर्माणका लागि ३ करोड रकम विनियोजित गरेको थियो ।
चैत १० गते निकालिएको टेण्डरको एक महिने म्याद गुज्रिएपछि बैशाख २२ गते सम्मका लागि म्याद थप गरि पुनः आह्वान गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले बताए । उनले भने–“सायद लकडाउनका कारण प्रस्ताव नपरेको हुन सक्छ, अव लकडाउन खुलेपछि कम्पनीहरु प्रस्ताव दिन आउनेछन ।”
लामो समय देखि पोखरा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा निर्माण गर्न पोखरेली क्रिकेटप्रेमीहरुले आवाज उठाउँदै आएका थिए । परिषदले ३ करोडको लागतमा बन्न लागेको मैदानमा अव ७ वटा पिच बन्ने भएको इन्जिनियर ताम्राकारले जानकारी दिए । रंगशालमा अहिले चारवटा पिचहरु रहेका छन ।
मैदानमा लामो समय देखि खट्किएको पेभिलियन समेत बन्ने भएको छ । प्रि–फ्यावको पेभिलियनमा चेन्जिङरुम, अम्पायर रुम लगाएत अन्य आवश्यक कोठाहरु बन्ने भएका छन । पेभिलियनको माथीभने ५० जना सिट क्षमताको प्यारापिट समेत हुनेछ । यो प्यारापिट भने भिआइपीहरुका लागि विशेष हुने ताम्राकारले बताए ।
मैदानको दक्षिण तर्फ बन्न लागेको प्यारापिटमा बसेर हिमालको दृष्यावलोकन संगै क्रिकेटको आनन्द उठाउन पाइने भएको हो । रंगशालाको शुरक्षाका लागि मैदान वरपर ४ फिट अग्लो तारजालीले समेत घेरिने छ । उक्त निर्माण कार्यको अवधी आगामी वर्ष २०७८ बैशाख १५ गते सम्मका लागि तोकिएको छ ।
पोखरा रंगशाला क्रिकेट खेल मैदानको लागि यति ठुलो रकम खर्चिएर पहिलो पटक टेन्डर आह्वान भएको हो । यहि मैदानमा गत मंसिर २०७६ मा दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेट समेत आयोजना भइसकेको छ ।
