
केशव पाठक,
विसं २०५८ साल, नेपालमा चरम द्वन्दको अवस्था । द्वन्दले सबै जनमानसको मनस्थिती खलवलिइरहेको । तर केही अग्रज खेलाडीहरुले नयाँ कुरा सोचे । जिवनभर खेल बाट सिकेको कुरा समाजमा बाँडन सकिने मात्रै नभई युवा पुस्ता जो खेल तर्फ आउन चाहन्छन उनीहरुलाई नयाँ कुरा दिन सकिन्छ ।
२०५८ को नयाँ वर्ष संगै नयाँ पालुवा फेरिएको बेला । पोखरा आफै प्रकितीले भरिएको शहर । चारैतिर हरियाली अनि नयाँ वर्षको घाम झुल्के संगै खेलकुदमा नयाँ पालुवा पनि पलायो । त्यो थियो भुतपुर्व खेलाडी मञ्च नेपालको गठन । यत्रतत्र छरिएर जिवनका बुढ्यौली पाइला अगाडी बढाउँदै गरेका अग्रज खेलाडीहरु संगठित भएको दिन ।
घरमानै बसेर नाती आराम संग अवकाश पछिको जिवन बिताउने बेलाका अग्रज खेलाडीहरुले खेलकुद मार्फत समाजलाई डोर्याउने गरेको प्रयास प्रशंसनिय छ । उनीहरुले देखाएको बाटोले आगामी पुस्ताका खेलाडी र खेलकर्मीलाई नयाँ बाटो तय गर्न पक्कै भुमिका खेल्ने छ ।
२०५८ बैशाख ६ गते विहिबार नयाँ वर्षको माहोल जारीनै थियो पोखरामा । अग्रज खेलाडी गणेश भट्टराईको वुमराङ रेष्टुरेन्ट लेकसाइडमा । अग्रज खेलाडीहरुको यस्तै माहोलमा भेट हुने ठाउँ अनि विगतका तिता मिठा गफ पस्किने काम हुन्थ्यो । त्यहाँ थिए अग्रज खेलाडी खड्ग रानाभाट, तेज गुरुङ, राम बहादुर श्रेष्ठ, मदन केसी, खेम गुरुङ (पेन्सन क्याम्प), शिबशंकर रञ्जित, दिनेश श्रेष्ठ, खेम गुरुङ (रानीपौवा) दिल बहादुर गुरुङ, गणेश भट्टराई लगाएत ८–९ जना । गफै गफमा नयाँ कुरा फुर्यो । अनि नयाँ कथा सुरु भयो मञ्च गठनको । सबैलाई निम्तो गर्ने जिम्मा बाँडियो । फुरुङ्ग पर्दै सबै आ–आफ्नो बाटो लागे ।

ठ्याक्कै तिन पछि २०५८ बैशाख ८ गते शनिवार पोखरा रंगशालामा अग्रज खेलाडीहरुको वृहत भेला भयो । त्यही भेलाले सूत्रपात गर्यो “भुतपुर्व खेलाडी मञ्च, नेपाल”को । भेलामा ९० जना अग्रज खेलाडी थियो । संगठित हुँदै अगाडी वढ्ने मन सबैलाई थियो । तर बाटो पाएका थिएनन । खेली रहुँदा सम्म समाजले चिन्यो । तर बाहिरिने वित्तिकै अग्रजलाई विर्सने बानी समाजको यद्यपी जारीनै थियो । अग्रजहरुले खेलकुदमा खेलेको भुमिकालाई खासै वास्ता गर्थेन समाजले । ति अग्रजहरु आफै संगठित हुँदै समाजमा नयाँ सन्देश भने दिन चाहन्थे ।

त्यसैको उपज थियो भुतपुर्व खेलाडी मञ्च नेपाल । जुन हिमालको काख पोखरा बाट शुरुवात भयो । अग्रज खेलाडी संगठित रुपमा अगाडी बढेको यो विश्वकै लागि पनि नयाँ सन्देश थियो । मञ्चको नेतृत्व सम्हाले अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले । महासचिब थिए तेज गुरुङ । तँ आट म पुर्याउछु भने जस्तै भएको थियो मञ्चको गठन । ८–९ जना सल्लाह गरेको तिन दिनमानै मञ्चले गति पायो । यो गठन हुनुमा यस्तो लाग्छ कि ति अग्रज खेलाडीहरु भित्र आफ्नो जिवनको पिडा पोख्ने चौतारी मञ्च बन्न सक्छ कि भन्ने ।
हुन पनि त्यस्तै छ मञ्च । कुनै भेला वा कार्यक्रम भयो भने ति बुढ्यौली कम्मरहरु पनि लौरो टेक्दै अझै पनि मञ्चको काममा तल्लिन हुन्छन । रमाइलो बातावरणमा । उनीहरुलाई लिनुदिनु केही हुन्न । अर्थत व्यक्तिगत स्वार्थ रत्तिभर हुन्न । संधै काममा जोतिन्छन फत्ते नहँुदा सम्म । खेलकुदको जिवनको एक अनुपम अनुशासित अंश त्यहाँ छरपष्टनै हुन्छ । मञ्चको गठनको उद्धेश्यनै केही नयाँ गर्नका लागि थियो । त्यो नयाँपन थियो नेपालकै लागि नयाँ कुरा सिटी म्याराथनको अवधारणा । २०५८ फागुन ७ गते पोखरामा पहिलो पोखरा म्याराथन आयोजना भयो । त्यसले नयाँ सन्देश दियो । खेलकुदका माध्यम बाट पोखरालाई विश्वमा चिनाउने ।

म्याराथन सकियो पहिलो पोखरामा उत्साहका साथ । त्यो म्याराथनको सूत्रपात गर्ने मध्येका थिए अग्रज खेलाडी गणेश भट्टराई । गठन भएको एक वर्ष भित्रै मञ्चले नेपाली खेलकुदको आकाशमा नयाँ अनुभव पस्किएको थियो । यस विचमा खेलकुद बिकासका लागि भन्दै धेरै अन्तक्रियाहरु समेत आयोजना भए । पहिलो म्याराथन आयोजना गरेर हौसिएको मञ्चले २०६० साल फागुन ७ गते दोश्रो पोखरा म्याराथन आयोजना गर्यो । अझै व्यवस्थित रुपमा ।
मछापुच्छ्रेको काखमा जन्मिएको अग्रज खेलाडीहरुको छाता संस्थाले खेलकुदमा नयाँ बाटो कोरेको छ । मञ्चले यति मात्रै होइन राज्य संयन्त्रलाई पनि नयाँ नेपालको खेलकुदको बाटोलाई खेलकुद मार्फत समृद्धी र खेलकुद पर्यटनको अवधारणाको मार्गमा डोर्याउन मार्गदर्शकको भुमिका खेलेको छ ।
म्याराथन सकिए पछिको थकान मेटन नपाउँदै मञ्चमा नयाँ कुराको सूत्रपात भयो । पोखरा रंगशालालाई पर्खाल लगाएर संरक्षण गर्ने विषय थियो त्यो । त्यती बेला धेरै समाचार प्रकाशित हुन्थे पत्रपत्रिकामा रंगशालाको विषयमा । ४१७ रोपनी क्षेत्रफलको रंगशाला वरपर पर्खाल घेर्नु चुनौती थियो राज्यलाई पनि । करौडौ रकम खर्च हुन्थ्यो । पर्खाल नहुँदा रंगशला बेहाल थियो । सुकुम्वासीले समेत कव्जा जमाउन थालेका थिए । गाईचरण त २०३२ बाटै थियो । अर्थात जहिले बाट यो अधिग्रहण भयो । रंगशालाको नाम मात्रै थियो तर बेहाल थियो ।

२०६० को चैतमा पोखरा रंगशालाको पर्खाल घेर्ने कुरा उठयो । यसलाई मञ्चको बैठकमा लागियो । लामो बहश र छलफल पछि पर्खाल घेर्ने कुरा पारित भयो । त्यसपछि लगातार धेरै भेलाहरु रंगशालामा आयोजना भए । पर्खाल घेर्ने कुराले पोखराको खेलकुदवृत्तमा नयाँ हलचल पैदा गर्यो । २०६१ बैशाखमा डा. विरेन्द्र सिंह गुरुङको नेतृत्वमा पर्खाल निर्माण समिती गठन भयो । त्यो नेतृत्वले बैदेशिक तथा पोखरेली नागरिक समाजको सहयोगमा पर्खाल निर्माण गर्यो । यो मञ्चको विजनमा मात्रै नभई विश्वकै खेलकुद इतिहासमा नागरिक समाजले चाह्यो भने के हुन सक्दैन भन्ने उदाहरण समेत बन्यो । पोखरा रंगशालाको कुल लम्वाई ३५३५ फिट, ८ फिट अग्लाई, त्यसमाथी ५ फिट काँडे तार समेत रहेको छ । पोखरा रंगशालामा कुल ५ वटा गेट रहेका छन ।
पोखराको खेलकुद विकासमा अगाडी बढेको मञ्चको गतिविधी म्याराथनमा आयोजनामा मात्रै सिमित छैन । युवा खेलाडीलाई वार्षिकरुपमा सम्मान गर्न अक्षयकोषको स्थापना, यसका विभिन्न सामाजिक अभियानका गति लगाएत अन्य खेलकुद मार्फत शान्तीको सन्देश दिन पनि यसले भुमिका खेलेको छ ।
पोखरा रंगशाला पर्खाला घेर्न गैर युके, अमेरिका, जापान, लगाएत बाट सहयोग रकम उठेको थियो । त्यस मध्ये युकेमा तमु धिं युकेको नेतृत्वमा सुर्य गुरुङ र मुछेत्र गुरुङले त्यहाँ सहयोग रकम उठाउन ठुलो भुमिका खेले । सहारा युकेको तर्फबाट संस्थापक अध्यक्ष नविन गुरुङले समेत देन रह्यो । उनले विदेशमा बसेर पर्खाल घेर्न खेलेको भुमिका निकै प्रशंसनिय रह्यो । मञ्चले सुरु गरेको पर्खाल निर्माणमा सहारा क्लव पोखरा समेत निर्माण समितीमा थियो । पर्खाल निर्माणका लागि प्राविधिक रुपमा निशुल्क काम गर्ने इन्ज्निियर किशान सिंह गुरुङको योगदान महत्वपुर्ण थियो । तर निर्माणका क्रममा हजारौ पोखरेली, विभिन्न संघ संस्था, कर्मचारी, उद्योगी तथा व्यवसायीहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका थिए । मञ्चले पर्खाल निर्माण संगै पर्खाल निर्माण बाट बचत भएको रकमले रंगशालामा वोरिङ बाट पानी निकाल्ने समेत काम भयो । रंगशालामा वोरिङ बाट निकाले पनि त्यो लामो समय टिक्न भने सकेन । किनभने त्यहाँ संरक्षणको अभाव भयो ।

मञ्चले लगातार रुपमा आयोजना गरेका पोखरा म्याराथनलाई राष्ट्रिय बाणिज्य बैंक र गैर आवाशिय नेपाली संघले समेत प्रायोजनको भुमिका खेलेको थियो । मञ्चले विविध कारणवश विसं २०६९, ७० र ७१ गरि तिन वर्ष म्याराथन आयोजनागर्न सकेन । समस्या थियो आर्थिकको । न त कसैले प्रायोजननै गरे । ११ औं म्याराथनमा अर्थात २०७२ मा पोखरेली उद्योग लक्ष्मी हाउसको उत्पादान सफल दुध मुख्य प्रायोजन पाएपछि पोखरा म्याराथनले १४ औं सस्करण पार गरेको छ । पोखरा म्याराथनलाई साथ दिन यति बेला पोखरेली मञ्च युके, अमेरिकाको नेपाली समाज, हङकङ नेपाली समाज पनि अगाडी आएको छ । प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीले पनि पोखरा म्याराथनको लामो इतिहास र यसले खेलकुदमा पारेको सकारात्मक सन्देश भन्दै सहयोगका लागि अगाडी देखा परेका छन ।

पोखराको खेलकुद विकासमा अगाडी बढेको मञ्चको गतिविधी म्याराथनमा आयोजनामा मात्रै सिमित छैन । युवा खेलाडीलाई वार्षिकरुपमा सम्मान गर्न अक्षयकोषको स्थापना, यसका विभिन्न सामाजिक अभियानका गति लगाएत अन्य खेलकुद मार्फत शान्तीको सन्देश दिन पनि यसले भुमिका खेलेको छ । यसको गठन पछिको किस्सा सुनाउँदै संस्थापक अध्यक्ष रानाभाट भन्छन–“प्रजातन्त्र प्राप्ती पछि पनि राष्ट्रकोलागि लामो योगदान दिएक खेलाडीलाई मण्डले भन्ने गरियो, ठाउँ ठाउँमा खेलाडी कुटिए, अग्रज खेलाडीको समेत मान मर्यादामा धक्का लाग्यो अनि संस्था गठन गरेरनै अगाडी वढ्ने सल्लाह भयो ।” १९ वर्षको मञ्चको इतिहासमा खड्ग बहादुर रानाभाट, प्रो डा. बिरेन्द्र सिंह गुरुङ र तेज गुरुङले गरि तिन जनाले नेतृत्व सम्हालेका छन ।

मछापुच्छ्रेको काखमा जन्मिएको अग्रज खेलाडीहरुको छाता संस्थाले खेलकुदमा नयाँ बाटो कोरेको छ । मञ्चले यति मात्रै होइन राज्य संयन्त्रलाई पनि नयाँ नेपालको खेलकुदको बाटोलाई खेलकुद मार्फत समृद्धी र खेलकुद पर्यटनको अवधारणाको मार्गमा डोर्याउन मार्गदर्शकको भुमिका खेलेको छ । मञ्चमा यद्यपी आफ्नो जिवनकालमा राष्ट्रका लागि योगदान दिएका करिव २ सय जना अग्रज खेलाडीहरु आवद्ध छन । यस विचमा १५ जनाको देहवासन समेत भएको छ । तर जति जना मञ्चमा आवद्ध छन उनीहरुको एउटै आवाज छ–“राष्ट्रको समृद्धी चाहन्छौ भने खेलकुदमा लगानी बढाउ ।” घरमानै बसेर नाती आराम संग अवकाश पछिको जिवन बिताउने बेलाका अग्रज खेलाडीहरुले खेलकुद मार्फत समाजलाई डोर्याउने गरेको प्रयास प्रशंसनिय छ । उनीहरुले देखाएको बाटोले आगामी पुस्ताका खेलाडी र खेलकर्मीलाई नयाँ बाटो तय गर्न पक्कै भुमिका खेल्ने छ ।
तस्विरः सुदर्शन रञ्जित
