
पोखरा, विश्वव्यापी कोभिड १९ महामारीको कारण लकडाउनका कारण घरमानै बस्न बाध्य खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मनोवैज्ञानिक प्रशिक्षण दिन थालेको छ ।
जापानको टोकियोमा सन २०२१ मा आयोजना हुने ओलम्पिक खेलको छनौट खेलको लागि तयारी अवस्थामा रहेका खेलाडीलाई आज बाट यस्तो प्रशिक्षण दिन शुरु गरेको हो । यस्तो प्रशिक्षण प्रदान गर्नु अघि तिन दिन अघि मात्रै नेपाल ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सका माध्यम बाट खेलाडी र प्रशिक्षक संग सिधा सम्वाद समेत गरेको थियो ।

करिब तिन साता देखि घरमा बसेर कुनै प्रशिक्षण लिन नपाएका ति खेलाडीको मनोवल उठाउन मनोवैज्ञानिक रुपमा हौसला दिन यस्तो प्रशिक्षण दिएको नेपालका मनोबैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङले बताएका छन । “प्रशिक्षण बन्द भएको अवस्थामा घरमानै बसेर रोगका समाचारले मानसिक असर परिरहेको छ” प्रशिक्षक गुरुङले भने–“यस्तो अवस्थामा उनीहरुको मनोवल माथी उठाउन यो प्रशिक्षण महत्वपुर्ण हुने आशा लिएको छु ।”
उनले यो प्रशिक्षण एकसाताको लागि दैनिक ४ देखि ५ बजे सम्म प्रत्यक्ष भिडियो कन्फ्रेन्सको माध्यम बाट प्रदान गरिने बताए । उनी नेपाल ओलम्पिक कमिटीमा स्पोर्टस साइकोलोजी कमिसनका संयोजक समेत हुन ।
यो प्रशिक्षणमा ओलम्पिक कमिटी बाट छात्रवृत्ति प्राप्त खेलाडीहरु, वाईल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकहरुले सहभागिता जनाएका छन । यो संगै खेलाडीहरुले कोभिड १९ रोगको संक्रमणको सम्भावना बाट जोगिने र आफ्ना प्रशिक्षकहरुको निर्देशनमा घरमै बसेर आफ्नो स्वास्थ्यलाई चुस्त राख्ने कार्यलाई पनि निरन्तरता दिन ओलम्पिक कमिटीले योजना समेत तय गर्दैछ ।
वाइल्ड कार्डको छनौटका लागि स्विमिङ बाट गौरिका सिंह र एलेक्स शाह, कराते बाट अनु अधिकारी र नविन रसाइली, आर्चरी बाट ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, सुटिङका शुष्मिता नेपाल र कल्पना परियार, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ रहेका छन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक खेल एक वर्ष पछि सार्ने निर्णय संगै छनौट खेलहरु पनि पछि धकेलिएका छन ।
