
केशव पाठक/ पोखरा,
टेबुल टेनिस ओलम्पिक खेल मध्येको एक उत्कृष्ट खेल मानिन्छ । टेबुल टेनिस खेलमा खेलाडीमा एक किसिमको एकाग्रता हुन्छ । उ खेल्दा खेल्दै शुन्यमा पुग्छ । शान्त स्वभावको यो खेल उत्तिकै रोमाञ्चक पनि हुनेगर्छ । तर पोखराको टेबुल टेनिस इतिहास केलाउने हो भने त्यती रोमाञ्चक भने छैन । धेरै उतारचढाव बेहोरेको छ पोखराको टेबुल टेनिसले ।

पोखराको टेबुल टेनिस खेल ठ्याक्कै यहि वर्ष बाट शुरुवात भयो भन्ने त छैन तर २०२८ सालमा पिएन क्याम्पसमा सानो एउटा बोर्ड थियो । तर पोखराको अधिकाँश खेल भने तत्कालिन क्याम्पस प्रमुख जर्ज जोनले नै भित्राएका हुन । त्यही वोर्डमा विनोद शंकर पालिखे, धुर्व श्रेष्ठ, कन्यैलाल वैद्य, ज्ञानेन्द्र बहादुर मल्ल पिएनमा अध्ययनरत थिए उनीहरु त्यहाँ खेल्ने गर्थे । यि पोखरेली अग्रजहरु टेबुल टेनिस शौखको रुपमा खेल्ने गर्दथे ।
त्यसैको सिको गर्दै राष्ट्रिय मावीमा युवाहरु टेवुलमा इटाको नेट बनाएर खेलेको बताउँछन सोही विद्यालयमा अध्ययन गरेका अग्रज टेबुल टेनिस खेलाडी दिल बहादुर गुरुङ । “२०२८ मानै हामीहरु काठको व्याट बनाएर खेल्ने गथ्र्यौ”–उनले भने–“पछि पिएनमा पढन थाले पछि हलको नजिकै बनाइएको काठको त्यही पुरानो सानो बोर्डमा खेल्न थाल्यौ ।”

२०२८ सालमा काठमाडौ बाट २ जना प्रशिक्षक आएका थिए । खेलाडी उत्पादन गर्न । ति थिए जिआर जोशी र आर आर जोशी । ति दाजुभाई थिए । ति दाजुभाईले टेबुल टेनिसका केही नयाँ खोलडी उत्पादन गरे । ति मध्ये थिए दिल बहादुर गुरुङ, शम्भु केसी, विर बहादुर गुरुङ, अशोक गौचन, विदुर राणा, मिन बहादुर गौचन, अनुप नेपाली, विनय तुलाचन, रमा मर्सानी, रुपा श्रेष्ठ ।
२०३१ सालमा बिराटनगरमा तत्कालिन राजा विरेन्द्रको शुभजन्मोत्सवमा राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता आयोजना भयो । तत्कालिन गण्डकी अञ्चल बाट ति मध्येका केही खेलाडी पहिलो पटक टेबुल टेनिसको पहिलो प्रतियोगिता खेल्न बिराटनगर पुगे । नतिजा खासै राम्रो हुन सकेन । रुपा र दिलको मिक्स डवल्सको जोडीले तेश्रो स्थान भने हात पार्यो । उक्त टिमलाई कृष्ण भट्टचनले प्रशिक्षण दिएका थिए ।

तत्कालिन गण्डकी अञ्चल बाट यो टिमले २०३२ सालमा धरानमा समेत खेल्यो । २०३३ मा चन्द्रगढी, झापा, २०३४ मा विरगञ्ज र २०३५ सालमा चितवन । टिम मध्येका उत्कृष्ट खेलाडी समेत रहेका दिल बहादुरले जागिरको शिलसिलामा २०३४ सालमा टेबुल टेनिस बाट विदा लिए । २०३४ पछि केही नयाँ खेलाडीहरु देखा परे । ति मध्ये थिए रमेश थकाली, सरित मर्सानी, शर्मिला खडगी लगाएत । यता शम्भु केसी भने फुटबललाई जिवनको मुख्य खेल बनाउँदै टेबुल टेनिस बाट बिदा लिए ।
वि.सं २०३४ सालमा तत्कालिन लुम्बिनी बाट खेल्दै गरेका उत्तम जोशी पोखरा झरे । उती टेबुल टेनिसका राम्रा खेलाडी थिए । २०३४ मा केही नयाँ खेलाडीहरुको उदय भयो । ति मध्ये थिए कृष्ण गुरुङ, प्रविन गुरुङ, कृष्ण मर्सानी, पदम माकाजु, पुर्ण भुजेल, दुगा नारायण श्रेष्ठ र महिला खेलाडीमा अप्सरा गुरुङ, अम्विका राजभण्डारी । त्यो टिममा पुरानो महिला खेलाडीले रमा मर्सानीले समेत निरन्तरता दिएकी थिइन ।

२०३४ सालमा नयाँ बनेको यो टिमले २०४० सम्म निरन्तरता दियो । टिम गेममा बाहेक गण्डकीले खासै उपलव्धी हासिल गर्न सकेन । २०४९ साल पछि केही वर्ष टेबुल टेनिस करिव करिव मृत अवस्थामा रह्यो । पोखरा १० स्थित एसओएस बालग्राममा धुर्व श्रेष्ठ कार्यरत थिए । उनी टेबुल टेनिसको राम्रो खेलाडी पनि रहेकोले त्यही विचमा उनले त्यहाँका विद्यार्थीहरुलाई टेबुल टेनिसप्रती आर्कर्षण जगाए । त्यही कारणले पनि गण्डकीले राष्ट्रिय प्रतियोगिताहरुमा भने सहभागिता जनाईनै रह्यो । तर ति सहभागिताहरु क्ेवल सहभागिताका लागि मात्रै थिए ।
पुरानै सिनियर टिमले धानेको पोखराको टेबुल टेनिसमा करिव १५ वर्ष पछि २०५५ सालमा अञ्चल नारायण श्रेष्ठ, केदार पौडेल, दिपक वाग्ले, महेश शाक्य, ढावा शेर्पा, पवित्रा गुरुङ, मोनिका गुरुङ, आरती थापा लगाएतका खेलाडी उत्पादन हुँदै टेबुल टेनिसले पुनः पुर्नजिवन पायो । यो टिमले काठमाडौ, नेपालगञ्ज, बिराटनगर, सुर्खेत, नेपालगञ्ज, विरगञ्ज लगाएतका स्थानमा सम्पन्न राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा निरन्तर सहभागिता जनायो । तर यो केवल सहभागिता मात्रै थियो । केही राष्ट्रिय प्रतियोगितामा टिममा तेश्रो स्थान बाहेक अन्य नतिजा फितलोनै रह्यो ।
२०३४ सालमा पोखरा रंगशालाको कभर्डहल टेबुल टेनिसका लागि छुट्टाइएको थियो । त्यहाँ एउटा काठको वोर्ड थियो । जुन अहिले पनि छ । २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा तिन वटा नयाँ वोर्ड पोखरा आए । पछि त्यही मध्येका दुई वटा वोर्ड वालिङ र बागलुङ पठाइयो । टेबुल टेनिसलाई छुट्टाइएको हल समेत धमाधम जन्मिएका मार्शल आर्ट खेलहरु र बक्सिङले कब्जा जमाउन थाले । शान्त ठाउँ आवश्यक पर्ने टेबुल टेनिसलाई त्यो हलमा खेल्ने बाटोनै अवरोध हुन पुग्यो । अर्थात करिव करिव टेबुल टेनिस मिल्काइएको अवस्थामानै कायम रह्यो ।
पोखरामा विद्यालयस्तर बाट पुर्नजिवन पाएको टेबुल टेनिसले २०६० बाट केही नयाँ खेलाडीहरुको पुर्नउदय भयो । त्यसमा थिए अनुज कुँवर, सुन्दर गुरुङ, कबिर श्रेष्ठ, सुरेश लामा, शंकर धिताल, किशन जिशी, सुमन जिशी, रुक गुरुङ, पार्वती थापा, अनिशा गौतम, अंकिता गुरुङ, ज्योती गुरुङ, रचना थापा, मोना थापा र कल्पना थापा ।
तर पनि पोखराको टेबुल टेनिस खेलले आधुनिक टेनिस संग अझै एकाकार हुन नसकेको बताउँछन अग्रज खेलाडी उत्तम जोशी । “अहिले पनि रंगशालामा खेल्ने वातावरणनै छैन” उनी भन्छन–“टेनिस हल अरु खेलले कब्जा जमाए, टेबुल टेनिस लाई मिल्काइएको अवस्थामा जस्तै छ । न त वोर्ड छ न त हल नै ।” यद्यपी जोशी, गिता थापा र ज्योती गुरुङले प्रत्येक शनिवार २५ जना खेलाडीलाई प्रशिक्षण दिइरहेका छन । तर भने जस्तो हुन नसकेको गुनासो छ संघका समेत अध्यक्ष रहेका जोशीको । यद्यपी पोखरामा हिसान स्पोर्टस मिट, प्याव्सन, एनप्यावसन स्पोर्टस मिट लगाएतका वृहत प्रतियोगितामा समावेश भइरहेका छन । तर ति प्रतियोगिताले पनि भने जस्तो खेलाडी उत्पादन हुन सकेका भने छैनन ।
पोखरा रंगशालामा अहिले पनि २०४० अघि ल्याइएको एउटा टेबुल टेनिस वोर्ड छ । साग गेमको तयारीका लागि ल्याइएको वोर्ड पनि भाँच्चिएको छ । फरक क्षमताका खेलाडीका लागि प्राप्त दुई वटा बोर्डमा प्रशिक्षण भइरहेका छन । राष्ट्रिय खेलकुद परिषदले गण्डकीलाई विगत ४० वर्ष यता कुनै प्रशिक्षकनै पठाएको समेत छैन । त्यसैले पनि खेलाडीहरु पनि आधुनिक टेबुल टेनिस संग एकाकार हुने मौकानै नपाएको गुनासो अग्रज खेलाडीहरुको छ । अर्थात पोखरामा टेबुल टेनिस अझै पनि आधुनिकतामा ढल्न सकेको छैन ।
