
पोखरा, रुस्लान थ्री स्टारलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विभागिय टिम नेपाल पुलिस १८ औं आहा ! रारा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ ।
पोखरामा सम्पन्न सेमीफाइनलमा खेलको ८ औं मिनेटमा रबी पासवानको लामो पासलाई सदुपयोग गर्दै डि बक्समा रहेका भरत शाहले अशोक खवासलाई विट गर्दै वान टचमा बललाई गोलको दिशा देखाए ।

नेपाल पुलिसले दोश्रो गोल खेलको ५१ औं मिनेटमा निर कुमार राईले दोश्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । थ्री स्टारका किपर पुर्ण चेम्जोङले गोल रोक्ने प्रयास विफल भयो । उनले बललाई पञ्च गर्न खोजे पनि बल हातमा लाग्दै गोल हुन पुग्यो ।
पुलिसका निर कुमार राईले नै ७१ औं मिनेटमा तेश्रो गोल गर्दै पुलिसको जितलाई सहज बनाए । तेज तामाङको पासलाई सदुपयोग गर्दै निरकुमारले खेलमा व्यक्तिगत दोश्रो गोल गर्दै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

यता थ्री स्टारले खेलको चौथो मिनेटमा गोल गर्ने अवसर खेर फालेको थियो । मिक्छेन तामाङको फ्रि किकलाई हेड गर्दै गोल गर्ने सन्जोग राईको प्रयास असफल भयो । उनको प्रहार फष्ट बार बाट बाहिरियो । खेलको ६ मिनेटमा अशोक खवासको पासमा सुसान श्रेष्ठ गोल गने प्रयास विफल भयो ।
खेलको १९ औं मिनेटमा समेत थ्री स्टारले गोल गर्ने राम्रो अवसर गुमायो । सन्जोक राईको पासमा डि बक्स भित्र वाट आशिष राईको कडा प्रहारलाई पुलिसका अन्जन राईले क्लियर गरे । खेलको ६२ औं मिनेटमा समेत अशोक खवासको क्रसमा सन्जोग राईको प्रहार पुलिसका किपर रोशन खडकाले मुस्किलले बचाए ।

खेल पछि प्रतिक्रिया दिंदै पराजित टिमका प्रशिक्षक मेघराज केसीले पुलिस आजको खेलमा जितको हकदार भएको बताए । आफ्ना खेलाडी उत्कृष्ट खेलेको भन्दै वचाउ गरेका केसीले गोल गर्ने केही राम्रा अबसर खेर जानु टिमका लागि दुर्भाग्य भएको बताए ।
यता पुलिसका प्रशिक्षक अन्नत राज थापाले आफ्नो टिम जुनियर र फाइटिङ टिम भएको बताए । आफूले यो टिमलाई कहिल्यै पनि च्याम्पियन टिमका रुपमा घोषणा नगरेको र टिमले खेलमा आफ्नो पेसलाई कायम राखेको हुनाले जित हासिल गरेको बताए । उनले फाइनल खेलमा जुनसुकै टिम संग पनि जुध्न तयार रहेको बताउँदै टिम उपाधी जित्नकै लागि मैदान उत्रिने बताए ।
भोली (विहिवार) दोश्रो सेमीफाइनल खेल मनाङ मर्स्याङदी र विभागिय टिम नेपाल त्रिभुवन क्लवका विच हुने सहारा क्लब पोखराले जनाएको छ ।
