
पोखरा, पोखरामा जारी आहा १ रारा गोल्ड कप अन्तरगत सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा आयोजक सहारा विभागिय टिम नेपाल पुलिस संग पेनाल्टी शुट आउटमा ४–२ अन्तरले पराजित हुँदै १८ औं सस्करण बाट आफ्नो यात्रा टुङ्गाएको छ ।
शनिबार पोखरा रंगशालामा आयोजित प्रतियोगितामा ए डिभिजनको टिम संग र्मैदानमा उत्रिएको सहाराले अपेक्षित रुपमा आर्कषक खेल खेल्दै १–१ गोलको बराबरी खेलेको थियो ।

खेलको पहिलो हाफमा कुनै गोल रहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा भरत शाहले पुलिसका लागि गोलको खाता खोलेका थिए । तर पुलिसले आफ्नो अग्रता अतिरिक्त समयमा गुमाउनु पर्यो । खेलमा थपिएको ४ मिनेटको समयमा अन्तिम २० सेकेण्ड बाँकी छँदै सहाराले बराबरी गोल फर्कायो ।
सहाराका कप्तान मान बहादुर तामाङले दिएको क्रसमा डि बक्स भित्र रहेका अजय श्रेष्ठले वन टच प्रहारमा बललाई गोलको दिशा देखाए । अजयले खेलको ९२ औं मिनेटमा सुमित श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।

यता बराबरी गोल भएपछि उत्तेजित नेपाल पुलिसका कप्तान भोला सिलवाल रेड कार्डको सामना गरे । खेलको ११९ औं मिनेटमा रेफ्री प्रकाशनाथ श्रेष्ठको निर्णयमा उत्तेजित भएका भोलाले दोस्रो एलो कार्डको सामना गर्दै मैदान बाट बाहिरिएका थिए । उनले पहिलो एलो कार्ड ९२ औं मिनेटमा फाउल विरुद्ध पाएका थिए ।
यता पेनाल्टी स्ट्रोकमा खेलका म्यान अफ दि म्याच समेत भएका पुलिसका किपर रोशन खडकाले सहाराको विदेशी खेलाडी युलरिच रामजेको प्रहार पञ्च गर्दै रोकेका थिए । यता सहाराका त्रिदेव गुरुङको प्रहार बाहिरियो भने आशिष गुरुङ र अजय श्रेष्ठले मात्रै गोल गरे ।
पुलिसको तर्फ बाट भरता शाह, हेम तामाङ, सौजन याख्खा राई र सुमन सुबेदी गोल गरे भने अनुप लिक्वुको प्रहार भने सहाराका गोल रक्षक अपर्ण कार्कीले सेभ गरेका थिए ।
खेलको पहिलो हाफमा पुलिसले निकै आक्रमक शैली अपनाउँदै सहारालाई दवावमा राख्ने प्रयास गरेको थियो । पुलिसका रबी पासवानले १७ औं मिनेटमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ३९ औं मिनेटमा समेत निर कुमार राईको प्रहार क्रस बारमा लागेर गोल हुन बाट चुकेको थियो ।

आजको खेलमा सहाराका प्रशिक्षक विष्णु गुरुङले आफ्नो एकेडेमीमा प्रशिक्षणरत ४ जनालाई पहिलो सेटमा मैदानमा उतारेका थिए । अभिषेक राना, अनिष लिम्बु, कमल सेढाई मगर, जिवन रायमाझी, प्रमिश गुरुङ र शिसिर क्षेत्रीले मैदानमा पुलिस विरुद्ध खेले ।
खेल पछि प्रतिक्रिया दिंदै सहाराका प्रशिक्षक विष्णु गुरुङले ए डिभिजन जस्तो सेट टिम संग आफ्नो टिाले उत्कृष्ट खेल खेलेको भए पनि भाग्यले साथ नदिएको बताए ।

आजको खेलको सुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले आहा रारा गोल्ड कप सफल बनाउने सबै पोखरेलीको दायित्व रहेको बताए । सहाराले पोखराको फुटबल बिकासमा गरेको योगदान महत्वपुर्ण रहेको प्रमुख जिशीले बताए । कार्यक्रममा सहारा युकेको तर्फ बाट प्रमुख जिशीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
आइतबारको खेल मनाङ मर्स्याङदी र झापा ११ बिच दोस्रो क्वाटर फाइनल खेलहुने सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जनाएका छन ।
