
पोखरा, नेपाल हक्की संघ द्वारा पोखरामा जारी “सहाना प्रधान स्मृति दोस्रो महिला हक्की प्रतियोगितामा” विभागिय टिम नेपाल आर्मीलाई फाइनलमा १–० गोलले पराजित गर्दै प्रदेश नं ५ ले उपाधी जितेको छ ।

फाइनल खेलको ५८ औं मिनेटमा खेलमा प्लेयर अफ दि म्याच समेत भएकी सुशी कुमारीले गोल गर्दै टिमलाई उपाधी जिताइन । जित संगै प्रदेश नं ५ ले नगद ५० हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता रहेको नेपाल आर्मीले नगद २५ हजारका साथमा मेड, कप र प्रमाणपत्र हात पारेको छ ।

यता प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले गण्डकीलाई पेनाल्टी स्ट्रोकमा ४–२ गोल अन्तरले पराजितगरि तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार प्राप्त गर्यो । खेल अवधीमा दुबै टिम बाट १–१ गोल भएपछि नतिजा पेनाल्टी स्ट्रोक बाट भएको थियो ।
यसै गरि ६ दिन सम्म पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशकी सोनु बराल उदियमान खेलाडी, सर्वाधिक गोल कर्तामा गण्डकी प्रदेशकै देविका बिक, उत्कृष्ट गोल रक्षकमा सुदुर पश्चिमकी करुणा दलार्मी र प्रदेश नं ५ की सुशी कुमारी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद र वेष्ट ट्रफी अवार्ड प्राप्त गरे ।
प्रतियोगतामा विभागिय टोली नेपाल आर्मी सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २, प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको थियो ।
बिजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका सांसद तथा लेखा समितीका सभापती कुमार खडका, नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिल शर्मा, उपाध्यक्ष हिमाल खडका लगाएतले नगद, कप र मेडल प्रदान गरेका थिए ।
नेपाल हक्की संघले पोखरा र काठमाडौमा गरि दुई ठाउँमा एष्ट्रोटफ सहितको हक्की खेल मैदान निर्माणका लागि छिट्टै पहल गर्ने हक्की संघका उपाध्यक्ष खडकाले बताएका छन ।
