
केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ चौथो दिनको खेलमा टिम इभेन्टतर्फ शुक्रबारको खेलमा नेपाल पहिलो स्थान उभिएको छ ।
उक्त प्रतियोगिता अन्तरगत शुक्रबार ५४.२ किलोमिटरको क्रस कन्ट्री इभेन्ट तर्फको ओभरअल ‘टास्क’मा टिम नेपाल पहिलो स्थानमा बनाएको हो । नेपालकै अर्को टिम ‘टिम एभरेष्ट’ले तेश्रो स्थानमा बनाएको छ भने कोरियाको टिम टप अफ कोरिया दोश्रो स्थानमा रहेकोछ ।

टिम नेपाल कुल ३७ अंकका साथ पहिलो, टिम कोरिया ३५ अंकका साथ दोश्रो र टिम एभरेष्ट ३२ अंकका साथ तेश्रो हुँदै एक अर्कालाई पछ्याईरहेका छन । हिजो विहिवारको खेलमा समेत कोरिया पहिलो र नेपालका दुई टिम क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका थिए । टिम तर्फ प्रत्येक देशका ४–४ जना खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन ।
पोखरामा जारी वर्ल्ड कप एशियन टुर–२०२० पोखराका कम्पिटिसन डाइरेक्टर विमल अधिकारीका अनुसार ९४ जना मध्ये ५७ जनाले टास्क पुरा गरेका थिए ।
यता एकल तर्फको प्रतिष्पर्धामा भने कोरियाका जङ्गमेन चोई १४८१ अंकका साथ पहिलो स्थानमा रहँदा कोरियकै चिक्योङ हा १४५४ अंकका साथ दोश्रो र नेपालका विशाल थापा तेश्रो हुँदै १४५० अंकका साथ कोरियाली खेलाडीलाई पछ्याएका छन ।
त्यसै गरि महिला एकल तर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक दोश्रो दिनको खेल सकिदा सम्म ४९९ अंक बटुलेर अग्र स्थान बनाएकी छन भने स्विजरल्याण्डकी सुसन स्टोफरले २२५ र कोरियाकी याना ली २१५ अंकका साथ क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका छन ।
यता नेपाल तर्फको १९ औं च्याम्पियनशिप अन्तरगत विशाल थापा १४५० अंकका साथ पहिलो, विजय गौतम १४४० अंकका साथ दोश्रो र आशिष थापा १४२३ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।
आजको टास्क अन्तरगत प्रतियोगीहरुले सराङकोट हुँदै तोरीपानी, नौ डाँडा, अर्मला, शान्तीस्तुपा, ठूलाखेत, लामा गाउँ हुँदै खपौंदीमा ल्याण्डिङ गरेको अधिकारी बताए ।
नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मानिएको मध्येको एक प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताएका छन । नेपाली १४ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना विदेशी महिला खेलाडी समेत रहेका छन ।
नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।
एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना गर्न स्विकृती दिएको हो । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि भएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।
प्याराग्लाइडिङ वर्ल्डकपमा नेपाली सेनाको साथ
प्याराग्लाइडिङ प्रतियोगितालाई पूर्णरुपमा शुरक्षित बनाउन नेपाली सेनाले सहयोग गरिरहेको छ । सम्भावित दुर्घटना भएमा हेलिकप्टर सहित सेनाहरु परिचालित गरि प्याराग्लाइडिङको अन्तर्र्रािष्ट्रय खेलमा नेपाली सेना पनि साथमा छ भन्ने कुरा सन्देश दिन नेपाली सेनाले सहयोग गरेको नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए । उनले भने–“यो हाम्रो लागी गौरवको कुरा हो, हामी शाहसिक खेलकुदलाई मार्फत देशलाई परिचित गराउन पाउँदा हामीलाई खुसीको अनुभुती भइरहेको छ ।”
नेपाली सेनाको चिकित्सक टोली सहित सम्भावित दुर्घटना भएमा उद्धारका लागि विभिन्न स्थानमा खटिएको प्रमुख सेनानी बस्नेतले बताए ।
प्याराग्लाइडिङमा लाइभ ट्रयाकरको प्रयोग
प्रतियोगितामा खेलाडीहरुको उडान भईरहेको बेला सबै जानकारी लिन ‘लाइफ ट्रयाकर’ यन्त्रको समेत प्रयोग गरिएको छ । नेपालमा प्याराग्लाइडिङ प्रतियोगितामा ‘लाइफ ट्रयाकर’ प्रयोग पहिलो पटक गरिएको हो । ‘लाइफ ट्रयाकर’को ‘चिप’ प्रत्येक खेलाडी संग रहने र कुन खेलाडी वा पाइलट कता उडान गर्दैछ भन्ने सम्पुर्ण दृष्य समेत सोझै मोनिटर बाट हेर्न सकिन्छ । यसका कारण प्याराग्लाइडिङलाई सुरक्षित संगै नतिजा प्राप्त गर्न निकै सहज हुने अध्यक्ष भण्डारीले बताए ।
वर्ल्ड कप प्रतियोगिता बारे के भन्छन त नेपाली सेनाका प्रमुख सेनानी बस्नेत, प्रतियोगिताका संयोजक योगेश भट्टराई, ना का अध्यक्ष कृष्ण केसी
