मौसमका कारण आज प्याराग्लाइडिङ प्रतियोगिता स्थगित

केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ मौसमका कारणले आज अन्तिम समयमा आएर स्थगित भएको छ ।

दोश्रो दिन क्रस कन्ट्रि अन्तरगत भएको ४६ किलोमिटर ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउना साथ आयोजकले फिर्ता बोलाएको थियो । सो समयमा नेपाल सहित २० देशका ९२ जना पाइलटहरुले उडान भरिसकेका थिए ।

प्रतियोगिताका कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले जनाए अनुसार दिउसो १ बजे पछि उत्तरी हावाका कारण प्रतियोगिता स्थगित गर्नु परेको हो । उनले भने–“पोखरामा चल्ने उत्तरी वायु यति खतरनाक हुने भएको सम्भावित दुर्घटनालाई रोक्न प्रतियोगिताका आजका लागि स्थगित नै गरेका हौं ।”

नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मध्येको एक प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताएका छन । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा विदेशी ८ जना महिला खेलाडी पनि रहेका छन ।

नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।

एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना गर्न स्विकृती दिएको हो । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि भएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close