
केशव पाठक/ पोखरा,
यहि फागुन ११ गते बाट पोखरामा सुरु हुने विश्व कप प्याराग्लाईडिङका लागि ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर– २०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को सम्पुर्ण तयारी पुरा भएको छ ।
उक्त प्रतियोगिताका आयोजक संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले तयारी पुरा भएको जानकारी दिंदै प्रतियोगितामा नेपाल सहित १०० जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन । चिन बाट फैलिएको कोरोना भाइरसका कारण चिनका खेलाडीहरुले प्रतियोगिता बाट आफ्नो नाम फिर्ता लिए पनि खेलाडीको अन्तिम टुङ्गो भने शनिवार मात्रै लाग्ने बताए ।
प्रतियोगितामा एक मात्र इभेन्ट क्रस कन्ट्री तर्फ प्रतियोगीहरुले प्रतिष्पर्धा गर्ने अध्यक्ष भण्डारीले जानकारी दिंदै खेलाडीहरुको उडान भईरहेको बेला सबै जानकारी लिन ‘लाइफ ट्रयाकर’ समेत प्रयोग गरिने बताए । नेपालमा ‘लाइफ ट्रयाकर’ प्रयोग पहिलो पटक हुन लागेको हो । ‘लाइफ ट्रयाकर’ प्रत्येक खेलाडी संग रहने र कुन खेलाडी वा पाइलट कता उड्दैछ भन्ने लाइभ दृष्य सोझै माोनिटर बाट हेर्न सकिनेछ ।
‘लाइफ ट्रयाकर’ प्रविधी अन्तर्राष्ट्रिय क्षेत्रिय विमान स्थल संचालनमा आए पछि पनि प्रयोग गरिने भएको छ । यहि प्रविधी बाट पाइलटहरुलाई सूचना दिन समेत सकिने र जहाज अवतरण र उडान हुनु अघि सचेत बनाउन सकिने भएको हो । यो प्रविधीको सुरुवात पछि पोखराको प्याराग्लाइडिङ निरन्तरता दिन समेत सहयोग पुग्ने अध्यक्ष भण्डारीको भनाई छ । यस अघि अन्तर्राष्ट्रिय विमानस्थलको संचालन पछि पोखराको प्याराग्लाइडिङ बन्द हुन सक्ने शंका गरिएको थियो । तर प्रविधीले यसलाई निरकारण गर्दै निरन्तर संचालन हुने भएको हो । उक्त प्रविधीको अवलोकनका नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधीहरु समेत गर्नेछन ।
नेपाल भ्रमण वर्ष २०२० को आवसरमा हुन लागेको यस प्रतियोगितामा सह आयोजकका रुपमा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल पाइलट क्लब रहेका छन । पोखराको सराङकोट बाट उडान भरेर खपौदी पानारोभा ल्याण्डिङमा अवतरण गर्ने व्ययवस्था गरिएको छ । सहभागी खेलाडीको उडानको समय हुन सक्ने दुर्घटनालाई मध्य नजर गर्दै हेलिकप्टर सहित नेपाली सेनाले सुरक्षा व्यवस्था मिलाएको प्रचार प्रसार समितीका संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।
