
केशव पाठक, पोखरा । भुतपुर्व खेलाडी मञ्च नेपालले पोखरा म्याराथन सुरु गर्दा पालेको सपना १४ वर्ष पछि पुरा भएको छ । नेपालको एक मात्र पुरानो म्याराथन प्रतियोगिता १४ वर्ष पछि ऐतिहासिक रुपमा सफलता प्राप्त गरे संगै यसले खेलकुद वृतमा नयाँ संकेत जन्माएको छ ।
भुतपुर्व खेलाडी मञ्च नेपालकै लागि पाका तथा ‘रिटायर्ड’ खेलाडीहरुको साझा संस्था हो । हुन त खेलकुदमा रिटायर्ड भन्ने शव्द अनौठो हुन्छ । खेलाडी आफ्नो जिवनमा कहिल्यै रिटायर्ड हुँदैन । किनभने उसको खेलकुद प्रतिको लगाव जिवन्तकाल सम्म हुन्छ र उसको वाँच्ने आधार नै त्यही हो ।
पोखरा रंगशालालाई पर्खाल ठडाएर जोगाउने कुरा देखि म्याराथनको निरन्तरता मञ्चका लागि संधै जिवन्त छन । १४ औं सस्करणको पोखरा म्याराथन सम्म आइपुग्दा यसले वेहोरेका उकाली ओरालीहरुको हिसाव कितावको फेहरिस्त पनि लामै छ । खेलाडीको एक मात्र सपना हुन्छ, आफूले सुरु गरेको कामलाई पुरा गर्नु । त्यो काम मञ्चका ति पाका व्यक्तित्वहरुले पुरा गरेका छन र समाजमा एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन ।
१४ औं सस्करणको सम्पन्नता संगै यसले नयाँ सन्देश छोडेको छ । १८० जना सदस्य भएको मञ्चले एकै पटक पोखरामा १० औं हजारलाई उर्तान सम्भव त पक्कै छैन तर यो सम्भव भयो । पोखराको यातयात ठप्प भयो । गल्ली गल्ली टोल टोल बाट सडकमा निस्किए पोखरेलीहरु । जातिय भेष भुषा, संगित र भजन चुड्कामा ३ घन्टा सम्म रमायो पोखरा । चोक चोकमा आ–आफ्नो जातिय पहिरनमा धावकहरुलाई स्वागत गरे । फुल वर्षाए । पानी दिए । हौसला बढाए ।
संसारका हरेक देशमा म्याराथन हुन्छन । तर पोखराको म्याराथन संस्कृती फरक छ । यसले एकता संगै शान्तीको सन्देश प्रवाह गरेको छ । विश्वलाई भनेको छ-‘खेलकुद र पर्यटनको शहर, पोखरा शहर ।’ प्रदेश सरकार, पोखरा महानगर लगाएत ५ सय भन्दा वढी संघ संस्थाहरुलाई म्याराथनले एकै ठाउँमा एउटै नारामा उभ्याएर भन्यो-‘पोखरा म्याराथन सफल बनाउने हामी सबैको कर्तब्य ।’ यो म्याराथन एक्लो मञ्चको मात्रै भएन सिंगो पोखरेलीको भयो । सरकार चल्मलायो । मन्त्री देखि सांसद सम्मलाई सडकमा दौडायो । जनता संग एकाकार हुन म्याराथनले जुटायो । न त उनीहरु शुरक्षा कवचमा थिए । न त झण्डा थियो । न त गाडी ।
पोखरा म्याराथनको १४ औं संस्करणमा विदेशी खेलाडीले पुरस्कार जित्नु नयाँ कुरा थियो । नाममा नै अन्तर्राष्ट्रिय झुण्डिएको भए पनि पुरस्कार देश कटेको थिएन । विदेशी धावक हुन्थे तर पर्दशन कमजोर हुन्थ्यो । यो पटक उपाधी जापान पुग्यो । खेलकुद मार्फत पर्यटनको हव पोखरालाई बनाउन यो नयाँ संकेतनै हो । जापानको कोमागाने शहर संग पोखरा महानगरको भगिनी सम्वन्धलाई म्याराथनले जोड्यो । भगिनी सम्वन्धको यर्थाथतालाई पुरा गर्यो । पोखरा महानगरको शान थपियो । सम्वन्ध झनै वलियो बन्यो ।
अर्को वर्ष १५ औं सस्करणमा पुरस्कार रकम बढाउन प्रदेश सरकार र पोखरा महानगरलाई घच्घच्यायो । म्याराथन के हो भनेर मञ्चले उनीहरुलाई प्रष्टायो । विदेशी खेलाडी आउलान नेपाली खेलाडीलाई चुनौती पस्केलान । नेपाली खेलाडी पनि दम भरेर उपाधी आफ्नै देशमा राख्न कसिएलान ।
जे होस १४ वर्ष सम्म म्याराथनको संस्कृती बसाल्न मञ्चलाई निकै मेहनत गर्नु पर्यो । यो तपस्याको समय थियो । अव जग बलियो बनेको छ । प्रदेश सरकार र पोखरा महानगर अगाडी आएको छ । प्रदेशको मात्रै नभई देशकै गौरव बोकेको पोखरा म्याराथनलाई जोगाउने जिम्मा अव उनीहरुको काँधमा पुगेको छ । मञ्चले उनीहरुलाई नयाँ गन्तव्य देखाएको छ । पोखरेलीहरुले म्याराथनको संस्कृतीको जग बसाल्न गरेको प्रयासलाई सलाम । खेलकुदलाई सलाम । म्याराथनलाई सलाम ।
तस्बिरः सुदर्शन रञ्जित
