
पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र गण्डकी प्रदेश सरकारको सहयोगमा यहि माघ ७ गते बाट संचालन हुने “गण्डकी प्रदेश स्तरिय मुख्य मन्त्री कप लिग फुटबल प्रतियोगिता”को उद्घाटन खेलमा कास्कीको आर्दश क्लब र गोर्खाको बौद्ध हिमाल क्लब भिड्ने भएका छन ।

मुख्य मन्त्री लिगको आयोजक एन्फाले जारी गरेको खेल तालिकामा दुई समुहमा विभाजित ९ जिल्लाका ९ वटा क्लबको सहभागिता रहनेछ । जस अनुसार सुमह ‘क’ मा कास्कीको आर्दश क्लब, लमजुङको त्रिवेणी क्लब, गोर्खाको बौद्ध हिमाल र डाँफे क्लब मनाङ रहेका छन ।
त्यसै गरि समुह ‘ख’ मा पाँच टिम रहेका छन । जस अनुसार होराइजन क्लब, स्याङजा, भिमाद क्लब तनहुँ, गैंडाकोट खेलकुद बिकास समिती, नवलपुर, वागलुङ जिल्ला फुटबल संघ, बागलुङ, म्याग्दी जिल्ला फुटबल संघ म्याग्दी रहेका छन ।
माघ १४ गते सम्म लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकारले ४० लाख सहयोग गर्ने बताइएको छ । प्रदेश सरकारले दिने रकमको संचालन भने सामाजिक विकास मन्त्रालय मार्फत संचालन हुने आयोजक समितीका संयोजक कृष्ण थापाले बताए । उनले भने–“खेल संचालनको रकम पारदर्शी होस भन्नका लागि हामीले यो पहल गरेका हौं ।” प्रदेश सरकारले संघहरुले आयोजना गरेको खेलकुद मध्ये फुटबल प्रतियोगिताका लागि यति ठूलो रकम प्रदान गरेको पहिलो पटक हो । प्रतियोगिता शुरु हुनु भन्दा अघि २० लाख दिने संयोजक थापाले जानकारी दिए ।
