
केशब पाठक /पोखरा, पोखरामा कुनै बेला टेनिस खेल धनाढ्यहरुको खेल मानिन्थ्यो । धनी र उच्च बर्गकाहरु आफ्नै खर्चमा टेनिस कोर्ट निर्माण गर्थे । अनि विदाको दिन व्यवसायी लगाएत विदेशमा टेनिस सिकेर आएकाहरुको राम्रै जमघट हुने गथ्र्यो । कुनै बेला पोखराको महेन्द्रपुलमा यस्तो जमघट हुने गथ्र्यो भने पछि पोखराको पस्र्याङमा शुरु भयो ।
हुनत पोखरामा टेनिस खेलको इतिहास त्यती लामो छैन । तर छोटो समयमा पनि इतिहास रच्न सफल छ टेनिस खेल पोखरामा । ५ वर्ष अघि टेनिसले पोखरामा कायापलटनै गर्यो । जब पोखरा रंगशाला भित्र टेनिस छिर्यो यसले नयाँ गति पायो ।
पोखराको खेलकुदमा पोखरा रंगशालाको इतिहास गज्जबको छ । राज्यको लगानी नभए पनि जनस्तर बाट कल्पना गर्नै नसक्ने काम भए । त्यो मध्ये टेनिस खेलको बिकास समेत हो । पोखरामा राज्यको लगानी बिना ७ वटा क्ले कोर्टहरु निर्माण भए । अनि बल्ल टेनिस सबैका लागि उद्गम स्थल बन्न पुग्यो ।

कुनै बेला पोखराको टेनिस व्यवसायी र धनाढ्यहरुको खेलका रुपमा चित्रित गरिएपनि अवस्था त्यो छैन यसले पुरै कायापलट प्राप्त गरेको छ । कास्की जिल्ला टेनिस संघका द्वितिय उपाध्यक्ष लोक बहादुर गुरुङ भन्छन–‘अब टेनिसको उपमा परिवर्तन भएकोछ यो नयाँ उर्जाका साथ यूवाहरुलाई समेटेर अगाडी बढ्दैछ ।’ उपाध्यक्ष गुरुङको भनाईलाई सापटी लिने हो भने पनि १३ औं दक्षिण एशियाली खेलकूदमा पोखराका दुई यूवा नविन मगर र प्रदिप खडकाले काश्य पदक जितेर त्यसलाई चरितार्थ पारेका छन ।
टेनिसको आइटिएफ र एटिएफ जस्ता खेलका आयोजनाले पनि पोखरा टेनिस खेलका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नयाँ उद्गम थलोको रुपमा बिकास भएको छ । माछापुच्छ्रेलाई काखमा राखेर पोखरामा टेनिस खेल्नुको मज्जानै छुट्टै हुने जुन सुकै खेलाडीले मनन गर्न सक्छन । त्यती मात्र नभई सात वटा क्ले कोर्ट संगै राष्ट्रिय खेलकूद परिषदले ३ करोड ५० लाखको लागतमा हार्ड कोर्ट सहित पूर्वाधारको निर्माणले पनि खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने पूर्व टेनिस खेलाडी कुमार अघिकारी बताउँछन ।
पोखरामा हरेक वर्ष आयोजना हुने भेट्रान्स टेनिस च्याम्पियनशिप यो वर्ष बाट अर्थात १७ औं संस्करण बाट ओपन तर्फ आइपुगेको छ । ‘पोखरामा टेनिसका लागि नयाँ यूग शुरु’ भएको भन्न रुचाउँछन कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा । ‘यसको श्रेय अग्रजहरुको मेहनतलेनै हो’ भन्छन उनी । अब पोखराको हार्ड कोर्टले पनि पोखराका खेलाडीहरु अन्तर्राष्ट्रियस्तरमा आफूलाई सक्षम सावित गर्न सक्ने उनले बताए । उनले अबको ध्यान विद्यालयबाट खेलाडी उत्पादन गर्नेतर्फ रहेको उनको भनाई छ ।
पोखरा टेनिसका लागि ‘इमरजिङ्ग’ र ‘प्यालेटफर्म’ भएको खेल मान्छन संघका सल्लाहाकार सूर्य भूजेल । स्थानिय रुपमा टेनिस खेलमा सहभागिता र सम्वन्ध समेत बढ्दै गएको संगै आर्थिक रुपले निरन्तर परिष्कृत भएर अगाडी बढ्न सक्ने मध्ये टेनिसनै रहेको उनी स्विकार्छन । यो बर्ष बाट शुरु भएको ओपन टेनिस आगामी वर्षहरुमा छिमेकी राष्ट्रका खेलाडीको सहभागिता समेत बढ्न सक्ने भएकोले सम्भावना झनै बलियो बनेको उनको कथन छ । टेनिस खेल पोखराका लागि खेलकूद पर्यटनको क्षेत्रमा समेत योगदान पुर्र्याउने खेलको रुपमा स्थापित भईसकेको समेत उनले बताए ।
पोखरामा यहि पुष १० देखि १४ सम्म आयोजना हुने १७ औं माछापुच्छ्रे टेनिस ओपन तथा भेट्रान्स प्रतियोगितामा पुरुष सिंगल–डबल्स, महिला सिंगल–डबल्स मा ३५, ४५, ५५ र ६५ बर्ष माथि सिंगल र डबल्स गरी विभिन्न १२ इभेन्टमा प्रतिष्पर्धा हुने संघका सचिब नविन चालिसेले जानकारी दिएका छन ।
यस पटक खुल्ला तर्फ १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल नेपाली खेलाडीहरु प्रदिप खड्का, नविन मगर, संरक्षण भुषण बज्राचार्य, प्रेरणा कोइराला तथा भेट्रान्स च्याम्पियन कमल भण्डारी, अग्रज खेलाडी मोहनबहादुर शाही लगायतको सहभागिता रहने छ । त्यसैले पनि यसको महत्व अझै बढेको सचिब चालिसेको भनाई छ ।
प्रतियोगितामा खुल्ला महिला, पुरुष तर्फ बिजेताले नगद ५० हजार रुपैँया, उप–बिजेता तर्फ २५ हजार रुपैंया र सेमिफाइनलिस्टले नगद रु १०–१० हजार साथै ट्रफि प्राप्त गर्नेछन् । महिला तथा पुरुष डबल तर्फ बिजेताले २० हजार, उप–बिजेताले १० हजार र सेमिफाइनालिष्ट तर्फ ५–५ हजार सहित ट्रफि प्राप्त गर्नेछन् । ३५ बर्ष माथिको एकल बिजेताले नगद ५० हजार तथा उपबिजेताले रु २५ हजार साथमा ट्रफि प्राप्त गर्नेछन भने ३५ बर्ष माथिका डबल्स बिजेताले नगद ८ हजार सहित ट्रफि प्राप्त गर्नेछन् ।
४५ बर्ष माथिको एक बिजेताले २० हजार, उप बिजेतालाई नगद १० हजार साथै सोहि उमेर समूहमा डबल्स तर्फ बिजेतालाई १५ हजार र उप बिजेतालाई ८ हजार रुपैँया सहित ट्रफि प्रदान गरिनेछ । ५५ बर्ष माथिका एकल तर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय तर्फ १० हजार रुपैया रहेको छ भने ६५ बर्ष माथिको बिजेता तथा उपबिजेतालाई ट्रफिद्वारा पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा काठमाण्डौ, बुटवल र पोखराका खेलाडीहरुको सहभागीता रहने छ । चार दिनसम्म चल्ने प्रतियोगितामा अखिल नेपाल टेनिस संघ, नेपाल पर्यटन बोर्ड, ट्रयाङकुलिटी स्पा लगायतको सहयोग रहेको छ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च लाग्ने कोषाध्यक्ष राजु गुरुङले बताए । ‘यसपटक हामीले २ देखि ३ लाख बचत गर्ने योजना बनाएका छौ’ उनले भने ।
