
पोखरा । पोखरामा जारी दोस्रो संस्करण नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा चितवन राईनोजले सहज जीत हात पारेको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको चितवनको जितमा कप्तान पारस खडका र रोहन मुस्ताफाको अर्धशतकिय पारी महत्वपूर्ण रह्यो । बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल रन अन्तरले चितवनले सहज जीत हात पार्दा पारसले चितवनका लागि ६३ रन जोडे भने मुस्तफाले खेलको सर्वाधिक ६८ रन जोड्न सफल भए ।
खेलमा चितवन राईनोजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३ रन जोडेको थियो । २ सय ४ रनको लक्ष्य पाएको बुटवल ब्लास्टर्सले कमजोर खेल प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा ८४ रन मात्र जोड्यो ।
बुटबलको पारिलाई ध्वस्त बनाउन करन केसीले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा ११ रन दिएर ४ बिकेट झारे । उनले ओपनर व्याट्स्म्यान द्वय अफ्ताबुदिन अहमद, शंकर राना, हरि चौहान र विपिन खत्रीलाई पेभिलिएनको बाटो देखाए । यस्तै रोहनले ३ ओभर फाल्दै ५ रन दिएर २ बिकेट लिए ।
उता बुटबलको बलिङ लाइनअपले खासै चमत्कार देखाउन सकेन । अफ्ताबुदिन अहमदले २ र अविनाष बोहराले १ बिकेट लिए ।
खेल पछि प्रतिक्रिया दिदै चितवनका कप्तान पारस खड्काले खेलको अन्तिममा नतिजालाई राम्रो सँग बुझेको र आगामी दिनमा उत्कृट प्रदर्शन गर्ने बताए । त्यस्तै धेरै रनको लक्ष्यले गर्दा शुरुमै खराब प्रदर्शन भएको बुटवल ब्लास्टर्सका क्याप्टेन सोमपाल कामीले बताए । यो खेलमा टिमकै प्रदर्शन कमजोर देखिएको उनले स्विकारे ।
म्यान अफ दि म्याचको उपाधि प्राप्त गरेका चितवन राईनोजका रोहन मुस्ताफाले दर्शकको सपोर्ट आफ्नो लागि हौसला बढेको बताए । पोखरामा खेल्न पाएकोमा खुशी लागेको बताउँदै मुस्ताफाले उपाधिले थप उर्जा मिलेको बताए ।
शुक्रबार पहिलो खेल पोखरा पल्टन र बुटवल ब्लास्टर्स बिच हुनेछ भने दोश्रो खेल एक्सपर्ट धनगढी ब्लुज र चितवन राइनोज बिच हुने प्रतियोगिता संयोजक छुम्वी लामाले बताए ।
तस्बिरः सुदर्शन रंजित
