
पोखरा, पोखरामा भोली देखि शुरु हुने भनिएको दोश्रो संस्करण पोखरा प्रिमिएर लिग (पिपिएल) को उद्घाटन खेल एक दिन पछि धकेलिएको छ । पोखराको प्रतिकुल मौसमलाई मध्यनजर गर्दै आयोजकले उद्घाटन खेल आइतबारलाई सारेको हो ।
यसै बिच पोखरामा एक कार्यक्रमका विच गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पिपिएल दोश्रो संस्करणको ट्रफी अनावरण गरेका छन ।

सो अबसरमा बोल्दै मूख्य मन्त्री गुरुङले खेलकुदमा व्यवसायिकता नभए सम्म खेलकुद बिकासको गति पछाडी धकेलिने बताए । विश्वमा विभिन्न भागमा भइरहेका व्यवसायिक खेलकुद गतिविधीको उदाहरण प्रस्तुत गर्दै उनले भने–‘यति बेला विश्वको खेलकुद जगतमा व्यवसायिकताको प्रभाव बढ्दै गए संगै खेलकुदको विकास र लोकप्रियता समेत बढेको छ ।’

खेलकुदमा व्यवसायिकताले खेलाडीको खेलप्रती विश्वास समेत बढ्दै गएको बताउँदै मूख्य मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले खेलकूद एकेडेमीको स्थापना पश्चात व्यवसायिकताको अभियानलाई प्रोत्सहानका साथ अघि बढाउने बताए ।
पोखरामा आयोजना हुने पिपिएल समेत व्यवसायिकताको मुख्य उदाहरणका रुपमा हेरिनेपर्नु कुरा उल्लेख गर्दै मूख्य मन्त्री गुरुङले पिपिएललाई पोखराको गौरबका रुपमा स्थापित गर्नुपर्ने कुरा औंल्याए । उनले यस आयोजनाले खेलकुदका माध्यम बाट पोखराको पर्यटन प्रवर्धनका लागि सहयोग पुग्ने कुुरा उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पिपिएलको आयोजक संस्था क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाले पोखराको प्रतिकुल मौसमका कारण उद्घाटन खेल एक दिन पछि सारिएको बताए । उनले अन्य दिनका सबै खेलहरु निर्धारित समयमा हुने जानकारी गराएका थिए ।
कार्यक्रममा पिपिएलमा सहभागी सबै फ्रेन्चाइज टिमका टिम कप्तानहरु समेतको सहभागिता रहेको थियो ।

तस्बिरः सुदर्शन रंजित
