
पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भए पछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ भने बाकिँ काम भने साग पछि हुने भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड र एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) का प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए ।
मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्डस्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्स बाट दुई जना प्राविधिक समेत पोखरा आएका छन । आज मात्रै ९ वटा माल बाहक ट्रकहरु भारतको बन्दरगाह बाट सामान लिएर पोखरा आइपुगेका छन । ति सामानले पूर्व तर्फको प्यारापिट जडानको काम हुने छ ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ । ति सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।
साग अन्तरगत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन ।
महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिभस् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।
यसै गरि ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका प्राविधिक टोलीहरु आइतबार पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए । उनले भने ‘ट्रयाक मार्किङ गर्न टोली आउँदैछ ४ दिनमा हामी ट्रयाक मार्किङको काम सक्दैछौं ।’
