विश्व अल्ट्रा सिरिज म्याराथनको उपाधी किलीयन र जुडिथलाई

पोखरा, कास्कीमा पहिलो पटक सम्पन्न विश्व अल्ट्रा सिरिज अल्ट्रा म्याराथनकोे फाइनलमा पुरुषतर्फ स्पेनका किलीयन जर्नेट र महिलातर्फ स्विजरल्याण्डका जुडिथ वेदरले उपाधि जितेका छन् ।

विश्वका विभिन्न छ देशमा सम्पन्न भएको प्रतिष्पर्धाबाट फाइनल चरणमा प्रवेश गरेका विश्वका १० पुरुष र १० महिला धावकबीचको ‘गोल्डेन ट्रेल वल्र्ड सिरीज’ को शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको दोस्रो संस्करणको फाइनलमा जर्नेटले चार घण्टा ४६ मिनेट एक सेकेण्ड तथा वेदरले पाँच घण्टा नौ मिनेटमा निर्धारित दूरी पार गरी विश्व कीर्तिमानी राखेका हुन् ।

गाउँपालिकाको वडा नं ८ लुम्म्रेको एक हजार २०० मिटर उचाइबाट शुरु भएको दौड मर्दी हिमालको हाइक्याम्प तीन हजार ७८० मिटर उचाइमा पुगेर ४२ किमी दूरी पार गरी धम्पुसमा आएर समापन भएको थियो । म्याराथनमा विभिन्न देशका १४० धावकहरु सहभागि भएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ इटलीका डेभिड माग्गनीले चार घण्टा ५९ मिनेट ५९ सेकेण्डमा दूरी पार गरी दोस्रो बने भने नर्वेका स्टेन एन्गरमढले पाँच घण्टा आठ मिनेट दुइ सेकेन्डमा तोएिको दुरी पार गरी तेस्रो बने ।

महिलातर्फ इटलीका सिल्भिया राम्पाज्जोले निर्धारित छ घण्टा १३ मिनेट १९ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा दक्षिण अफ्रिकाका मेगान म्याकेन्जीले छ घण्टा ३३ मिनेट २८ सेकेन्डमा तोकिएको दूरी पार गरी तृतीय बनिन् ।

उपाधि विजेता किलीयनले आफूले दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेको बताउँदै उचाइमा दौडनु कठिन र दुःख पूर्ण भएपनि हिमाल, प्राकृतिक सौन्दर्यलाई नियाल्दा खुशी भएको प्रतिक्रिया दिए ।

पहिलो पटक नेपालमा आएर यतिका उचाइसम्म पुगेर प्रतियोगितामा विजयी हुँदा सबै दुःख भुलेको बताउँदै अर्का विजेता जुडिथले यसअघि कहिल्यै पनि दुई हजार भन्दा माथिको उचाइमा दौडको अनुभव नरहेको बताइन् ।

खेल सामग्री उत्पादक कम्पनी सोलोमनले आयोजना गरेको प्रतियोगिताका उपाधि विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले ट्रफी तथा नगद पुरस्कार रु एक लाख वितरण गरेकी थिइन ।

प्रतियोगिताको स्थानीय आयोजक ट्रेल रनिङ नेपालका अध्यक्ष एवं विश्व अल्ट्रा धाविका मीरा राइले प्रतियोगिताबाट नेपाल साहषिक खेलकूदमा समेत विश्वस्तरमा परिचित भएको बताए ।

शनिबार ५५ किमीको अन्नपूर्ण अल्ट्रा म्याराथन र १०० किमीको दौड आयोजना हुने र त्यसमा विदेशी तथा नेपाली धावकहरुको सहभागिता रहने राईले जानकारी दिइन ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाको मात्र गण्डकी प्रदेश तथा समग्र देशको प्रवद्र्धनमा प्रतियोगिताले सहयोग गरेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close