पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्रि रेसको सम्पूर्ण तयारी पुरा

पोखरा,  पोखरामा पहिलो पटक यहि असोज २९ गते हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

पोखरा लेकसाइड बाराहीघाट बाट सुरु हुने प्रतियोगितामा मित्रराष्ट्र चीनका करिब ३० जना धावक र नेपालका करिब १ सय ५ जना गरि कुल १ सय ३५ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन । जस मध्ये चिन तर्फ बाट टिम तर्फ २ र अन्य खेलाडीले इन्डिभिजुअल तर्फ सहभागिता जनाउने छन । यता नेपालका तर्फ बाट विभागिय र अन्य जिल्लाका गरि दौडमा नेपालको तर्फबाट २७ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

क्रस–कन्ट्री दौडमा चिनिया संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधी सहित ६० जनाको टोली पोखरा आइसकेको छ ।

प्रत्येक टिम ३ जना रहने र टिममा एक जना महिला खेलाडी अनिवार्य गरिएको छ । दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन् । टिम तर्फको बाराही घाट र इन्डिभिजुअल तर्फ शान्ती स्तुपामा पुगेर समापन हुनेछ ।

दौडको समापन पुनः बाराही घाटमानै हुने आयोजक मध्येका एक कास्की जिल्ला खेलकुदका निर्वतमान अध्यक्ष याम गुरुङले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने नेपाली टिम यहि २०१९ डिसेम्बरमा चिनको कुनमिङमा हुने जिआओजि १०० किमी दौडमा सहभागिता जनाउन पाउने छन ।

बाराही घाट बाट शुरु हुने दौड, राष्ट्रबैक चोक, ड्यासमइड, डेभिसफल, तिवेतेन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टिखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखले डाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ (गौरी प्रावी), ढुङ्गेपानी, शान्तीस्तुपा पार्किङ, स्तुपा, अनदु डाँडा, लिची बोट हुँदै बोटिङ गरेर बाराही घाट सम्मको रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घन्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिदैं प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले भिजिट नेपाल २०२० को प्रवद्धर्न गर्न प्रतियोगिताले अहम भूमिका खेल्ने बताएका छन । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ६० हजार खर्च लाग्ने उनले जानकारी दिए । उनले यसलाई नाफामुलक भन्दा पनि प्रचारात्मक अभियानका रुपमा अगाडी बढाउने बताए ।

पत्रकार सम्मेलनमा आयोजक मध्येका एक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, स्वास्थ्य संयोजक शंकर भण्डारीले समेत प्रतियोगिताका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close