
पोखरा,
नेपालमा आयोजनाहुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय ह्याण्डबल पुरुष तथा महिला ह्याण्डबल खेलाडीहरुले एक आपसमा नेपालीहरुको महानपर्व बडा दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान गरेका छन ।

सो अबसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले शुभकामना व्यक्त गर्दै खेलाडीलाई अनुशासनमा रही राष्ट्रिय गौरब बढाउने मौकालाई खेर नफाल्न आग्रह गरे । उनले भने–‘हामी भित्र आ–आफ्ना समस्या छन ति समस्यालाई एकातिर पन्छाएर खेलकुद बाट पदक जितेर हामी राष्ट्रिय झण्डा माथी उठाउन एक ढिक्का हुन आवश्यक छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा विधायन समितीका सभापती मोहन रेग्मीले ह्याण्डबल खेलाडीले अनुशासनमा सबैको ध्यान खिच्न सफल हुने विश्वास व्यक्त गरे । ह्याण्डबल संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका सांसद रेग्मीले विभिन्न समस्याका बाबजुद ह्याण्डबल खेलाडीले पदक जितेर राष्ट्रिय झण्डा फहराउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले अहिले खेलाडीको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै खेलाडी बिनाको खेल कहिल्यै अगाडी बढ्न नसक्ने बताए । पोखरामा बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीको समस्याहरु समाधान गर्न आफूले सक्दो प्रयास गर्नेमात्र नभई उनीहरुको दुःख सुःखमा सँधै साथ दिने उनको भनाई थियो । उनले भने–‘एक जना खेलाडीले लामो समय देखि खेलकुदमा दिएको योगदानलाई हामीले नसम्झिए अरु कस्ले सम्झिन्छ,’ उनले थपे–‘खेलाडीले पाएको समस्याले मलाई सँधै मुटुमा घोच्ने गर्छ ।’

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिबन बस्नेतले समेत मन्तव्य दिएका थिए । पोखरा लेकसाइड स्थित होटल व्लु म्यागनेटमा ह्याण्डबल खेलाडी प्रशिक्षकहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।

