
केशब पाठक,
पोखरा,
पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिन माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
सो प्रतियोगिता बारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखराको पर्यटनलाई प्रवद्ध्न गर्न प्रतियोगिताले अहम भूमिका खेल्ने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताएका छन । पोखराको भगिनी सम्वन्ध रहे्को चिनको कुनमिङ शहर र पोखरा महानगरपालिकाले यो प्रतियोगिता आयोजनाका लागि संरक्षकत्वको भूमिका खेल्ने संयोजक पालिखेले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन मार्फत पर्यटन प्रवर्धन गर्दै र दौडलाई व्राण्डिङ गर्न यसको नाम ‘रन फर लभ’ राखिएको संयोजक पालिखेले बताए ।
प्रतियोगितामा सहभागीहरुले तिन वटा विद्यामा सहभागिता जनाउने छन जसमा दौड, साइक्लिङ र वोटिङ हुनेछ । ‘पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन हामीले यो ‘मेघा इभेण्ट’को आयोजना गर्न लागेको’ संयोजक पालिखेले बताए । उनले भने–‘हामी यो कार्यक्रममार्फत पोखरालाई साहशिक खेलकुद पर्यटनको केन्द्र बनाउन चाहन्छौँ ।’ क्रस–कन्ट्री दौडमा मित्रराष्ट्र चीनका करिब ४० जना धावक, चिनिया संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागी हुन पोखरा आउने भएको उनले जानकारी दिए ।
प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन् । प्रतियोगितामा नेपालका तिन विभागिय टिमका खेलाडी र स्थानिय टिम र चिन कुनमिङ शहरका गरि ३० टिमले प्रतियोगितामा सहभागिता जनाउने छन । प्रत्येक टिम ३ जना रहने र टिममा एक जना महिला खेलाडी अनिवार्य गरिएको छ । यो चिनको ‘जिआओजी’ माउण्टेनियरिङ रेस जस्तै हुने गरि रुट तयार गरिए भए पनि यसको दुरी ४२.२ किलोमिटरको हुने आयोजक मध्येका एक कास्की जिल्ला खेलकुदका निर्वतमान अध्यक्ष याम गुरुङले जानकारी दिए ।
पोखराको बाराही घाट बाट शुरु हुने दौड, राष्ट्रबैक चोक, ड्यासमइड, डेभिसफल, तिवेतेन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टिखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखले डाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ (गौरी प्रावी), ढुङ्गेपानी, शान्तीस्तुपा पार्किङ, स्तुपा, अनदु डाँडा, लिची बोट हुँदै बोटिङ गरेर बाराही घाट सम्मको रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घन्टा लाग्न सक्ने अनुमान गरिएको कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए । प्रतियोगितामा व्यक्तिगत रुपमा समेत सहभागिता जनाउन पाइने छ ।
प्रतियोगितामा नेपाली बिजेता प्रथम, द्वितिय र तृतिय हुने टिमका खेलाडीलाई चिनको कुनमिङ शहरमा आगामी नोभेम्वर २०१९ मा आयोजना हुने विश्व प्रशिद्ध ‘जिआओजी’ माउण्टेनियरिङ रेसमा सहभागिताका लागि पठाइने भएको छ भने सहभागी नेपाली खेलाडीको पोखरा बसाईको खर्च पश्चिमाञ्चल होटल संघले गर्ने भएको आयोजक तथा संघका अध्यक्ष बिकल तुलाचनले जानकारी दिए । ‘हामी खेलकुद पर्यटन मार्फत पर्यटकको बसाई लम्व्याउन चाहन्छौं’ अध्यक्ष तुलाचनले भने–‘अहिलेको मुख्य समस्या भनेकै पर्यटकको बसाई धेरै दिन नहुनु हो ।’
पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सांसद तथा अर्थ एव बिकास समितीका सभापती दिपक कोइरालाले यस प्रकारको प्रतियोगिताले प्रदेशको खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । ‘यो नयाँ इभेन्टका रुपमा आएको छ, देशको आर्थिक गतिविधी, मौलिकता, राष्ट्रिय सन्दर्भ लगाएत सबै कुराको बिकासमा यसले योगदान दिने छ ।’ उनले यो प्रतियोगितालाई प्रदेश सरकारकै इभेन्टका रुपमा अगाडी बढाउने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।
