
केशब पाठक/तस्बिरः सुदर्शन रंजित
पोखरा,
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन आजको मितीले ठ्याक्कै ७५ दिन बाँकी छ । पोखरा फुटबल स्टेडियम निर्माणको कामको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स र नेपालको एमए कन्सट्रक्शन प्रालीले रंगशालाका लागि आवश्यक सामाग्रीहरु विदेश बाट आयात सुरु गरिसकेको छ ।

सबै खेलप्रेमीको चासोको विषय बनेको पोखरा रंगशालाको फुटबल स्टेडियम पुरा गर्न कार्तिक १५ गते भित्रको अल्टिमेटम राष्ट्रिय खेलकुद परिषदले दिएको हुनाले पनि कम्पनीले यति बेला काम सक्न आतुरता देखाएको छ । पोखरा फुटबल स्टेडियममा साग अन्तरगत महिला फुटबल हुनेछ जसका लागि पोखरेली खेलप्रेमीहरुले व्यग्रताका साथ पर्खिरहेका छन ।
निर्माण कम्पनीले जर्मनी बाट ट्रयाक एण्ड फिल्डमा राखिने रवर ‘गेनान’ ब्राण्डको ४ कन्टेनर रबर पोखरा आयात गरिसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताएका छन । उनले भने–‘पोखरामा केही दिन देखि मौसम विग्रिएकोले आएको रबर ट्रयाक एण्ड फिल्डमा ओछ्याउन पाइएको छैन, मौसममा सुधार हुना साथ काम शुरु हुन्छ ।’ गुरुङका अनुसार अझै ४ कन्टेनर रबर कार्तिक १५ गते भित्र पोखरा आइपुग्ने छ ।

यता स्टेडियमका लागि आवश्यक कुर्ची समेत फ्रान्स बाट पोखराका लागि हिंडिसकेको छ । एक साता अघि फ्रान्स बाट पोखराका लागि १० हजार थान कुर्ची पोखरा आइपुग्न करिब एक महिना लाग्ने परिषद सदस्य गुरुङले जानकारी दिएका छन । समुद्री मार्ग हुँदै पोखरा आइपुग्न समय लाग्ने देखिए पनि कार्तिक १५ गते भित्र रंगशालामा कुर्ची जडान हुने गुरुङले बताए ।
फुटबल स्टेडियमकै अर्को महत्वपूर्ण पक्ष मैदानको प्राकृतिक झार निर्माण कम्पनीले कोलकत्ता बाट झिकाउँदै छ । ‘बर्मुडा’ प्रकृतीको झार बिहिबार कोलकत्ता बाट पोखराका लागि हिड्ने राखेप सदस्य गुरुङले जानकारी दिएका छन । ‘पहिलो लटको एक कन्टेनर बिहिबार कोलकत्ता बाट हिड्ने छ भने दोश्रो कन्टेनर केही दिन पछि’, उनले भने । पोखरा फुटबल स्टेडियमका लागि छुट्टै १ लाख लिटरको ओभर हेड ट्याँकी सोही निर्माण कम्पनीले निर्माण गर्न सुरु गरिसकेको छ ।

पोखरा रंगशालालाई आधुनिक र सफा बनाउन पोखरा स्टेडियम निर्माण कम्पनीले रंगशाला परिशर भित्र करिब साढे १ किलोमिटर बाटो पिच गर्न सुरु गरिसकेको राखेप सदस्य गुरुङले जानकारी दिएका छन । रंगशालालाई बातावरण मैत्री बनाउन सडक पिच हुने वित्तिकै रुख रोपेर हरियाली बनाइने अभियानमा लागेको गुरुङ बताउँछन । ‘अहिले रंगशालाको दक्षिण गेट बाट पिच शुरु थालिएको छ यसले पुरै रंगशालालाई सडकले छुनेछ’ उनले भने–‘हामी तुरुन्तै अब वृक्षारोपण र बगैंचा बनाउनमा लाग्दैछौ ।’

पोखरा रंगशालामा खेलाडी तथा दर्शकहरुलाई पिउने पानी व्यवस्था गर्न हाल ११ हजार लिटर शुद्ध पिउने पानीको व्यवस्था गरिसकिएको राखेप सदस्य गुरुङले जानकारी दिए । उक्त पिउन्े पानी जडान गर्न गरिमा बिकास बैंकले मुख्य रुपमा सहयोग गरेको छ भने लाहुरे तालिम केन्द्रहरु र पोखरेली खेलाडीहरुले सहयोग गरेको गुरुङले बताए । उनले रंगशाला परिशरमा अझै २० हजार लिटरको पानीको व्यवस्था गरिने जानकारी दिए ।

यति बेला निर्माण कम्पनीको कामले आफूलाई केही आशाबादी बनाएको राखेप सदस्य गुरुङले बताएका छन । तर हात बाँधेर बस्यो भने केही नहुने उनको तर्क छ–‘हामी मंसिर १५ गते साग आयोजनाको जुन लक्ष्य लिएका छौं त्यो हात बाँधेर बसेर पुरा हुँदैन हामी पोखरेली सबै एकजुट हुनुपर्छ’ उनले थपे–‘साग अन्तरगत पोखरामा आयोजना हुने ८ वटा खेलहरुको भब्य आयोजना गरेर पोखराले गर्न सक्छ भन्ने सन्देश सबैमा पुुर्याउन आवश्यक छ ।’
