
पोखरा,
नेपाली यू–१८ राष्ट्रिय फुटबल टिमले भोली (बुधबार) बाट सहारा एकेडेमीमा दोबिल्लामा अभ्यास गर्ने भएको छ ।
आज बाट पोखरा स्थित नेपाली सेनाको बिजयपुर ब्यारेकमा अभ्यास सुरु गरेको टोलीले भोली बाट सहारा एकेडेमीमा अभ्यास गर्ने भएको हो ।

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि करिब ८ दिनका लागि बन्द प्रशिक्षणका लागि पोखरा आएको २९ सदस्यिय टोलीमा २५ जना खेलाडी सहित तिन जना प्रशिक्षक र दुई जना अफिसियल रहेका छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य रुपेश अधिकारीको नेतृत्वमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन ।

टोलीमा समावेश डाँगी कोरियाको यू १७ को टिम बाट खेलिसकेका खेलाडी हुन । उनले देशका लागि खेल्ने भन्दै नेपाल आएका हुन । टिममा उनी सबै भन्दा भरपर्दा खेलाडी मानिन्छन । सानै उमेर बाट फुटबलमा प्रवेश गरेका डाँगीको खेल बाट कोरियामा निकै चर्चित रहेका छन ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ ।

च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन ।
तस्बिरः सुदर्शन रंजित
