
केशब पाठक,
पोखरा,
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने प्याराग्लाइडिङको उडान र अवतरणका लागि स्थान निश्चित गरिएको छ ।
सागका लागि पूर्वाधार निर्माणको कामको निरिक्षणका लागि पोखरा आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले आइतबार पोखरा १८ स्थित सराङकोटको तोरीपानी पुगेर निरिक्षण गरे पछि उडान संगै अवतरणका लागि स्थान निश्चित भएको हो ।

उडान संगै अवतरणका लागि पोखरा १८ मा फेवाताल किनारमा रहेको प्यारानोभा ल्याण्डिङ साग खेलकुदका लागि प्रयोग गरिने भएको छ ।
सदस्य सचिब सिलवालले प्याराग्लाइडिङको उडान संगै अवतरणको स्थान समेत निरिक्षण गरेका छन । सदस्य सचिब सिलवालले पोखरा पामे फेवाताल किनारमा रहेको ‘इन्ड अफ दि लेक’ प्यारानोभा ल्याण्डिङ सागका लागि उपयूक्त हुने बताएका हुन ।
निरिक्षणका क्रममा सदस्य सचिब सिलवालले साग खेलकुद अन्तरगत प्याराग्लाइडिङ बाट राष्ट्रले अपेक्षा गरे अनुसार स्वर्ण पदक जित्न आवश्यक पूर्वाधारहरु यथासिघ्र पहल थालिने बताए । साग अन्तरगत यदि कुनै देश प्याराग्लाइडिङमा सहभागिताका लागि इच्छुक भएमा नेपालले प्रशिक्षणका लागि सबै प्रवन्ध निशुल्क मिलाउने समेत उनले बताए ।
साग देश अन्तरगत नेपालको पोजिशन प्याराग्लाइडिङमा माथी रहेको बताउँदै सदस्य सचिब सिलवालले सागका सबै देशहरुलाई प्याराइलाइडिङमा सहभागिता जनाउन ओलोम्पिक मार्फत पत्राचार गरिने समेत बताए । निरिक्षणका क्रममा उनले भने–‘सबै देशलाई पत्रचार गरौ आवश्यक परेमा परिषदले समेत सहभागिताका लागि पत्र पठाउन सहयोग गर्नेछ ।’
सागका लागि खेलाडीका लागि आवश्यक सामाग्रीका बारेमा समेत सदस्य सचिब सिलवालले चासो व्यक्त गर्दै सबै सामाग्रीहरु सूचि बनाएर खरिद गर्न आवश्यक निर्देशन समेत दिएका छन ।
प्याराग्लाइडिङको पूर्वाधार निरिक्षणका लागि राखेप सदस्य सचिब सिलवाल संगै राखेप सदस्य राजेश कुमार गुरुङ, राष्ट्रि टिम तयारीका निर्देशक महेन्द्र राई, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउत, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद या्ेगी, कास्की जिल्ला खेलकुदका प्रमुख प्रकाश बराल लगाएतको सहभागिता रहेको थियो ।
१३ औं साग अन्तरगत पोखरामा हुने प्याराग्लाइडिङका लागि महिला तथा पुरुष गरि २८ जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेको संघका महासचिब राउतले जानकारी दिएका छन । सागमा प्याराग्लाइडिङ तर्फ क्रस कन्ट्रि र एक्यूरेसी गरि दूई इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।
