
पोखरा,
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा शनिबार गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले जितेकाछन । न्यू डायमण्ड बाट सिपोरा गुरुङ पुनः पोखराको भलिबल कोर्टमा उत्रिएकी छन ।

शनिबार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी दोश्रो खेलमा यू—डाईमण्ड एकेडेमिले चितवन टाईगर्स क्लवलाई २५—१४, २५-२०, २५-१४ को सोझो सेटमा पराजित गरेको हो ।

शनिबार हुने भनिएका दुई खेल अत्याधिक बर्षाका कारण स्थगित भएको छ । गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल जारी रहदा लगातार गण्डकी प्रदेशले दुई सेट लिए संगै तेश्रो सेटमा अत्याधिक पानी परेको हुनाले उक्त खेल स्थगित भएको नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष यम बहादुर गुरुङले बताए । त्यसै गरी शनिबार हुने भनिएको अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेल स्थगित भएको हो । स्थगित खेल आइतबार विहान ७ बजे पछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । स्थगित खेल बाहेक आइतबार लिग चरणका ४ खेल हुने भएकाछन ।

यसैबिच, सोमबार सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले गरे । कार्यक्रममा बोल्दै उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए । उनले भने–“छात्रा भलिवलको रुप राष्ट्रिय भलिवल भएकोले अब राष्ट्रिय भलिवलको सुधारिएको रुप अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता हुनुपर्छ तपाईहरुले आयोेजना गर्नुहोस, राखेपको क्यालेण्डरमै यसलाई समेट्नुहोस हामी सहयोग गर्छौ ।”

यही भदौं १६ गते सम्म इन्द्रराज्य लक्ष्मि माविको परिसमा संचालन हुने उक्त प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहभागि भएकोे छैन । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

यसैबिच, महोत्सवमा शनिबार सम्पन्न भएको नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले ६ स्वर्ण, १ रजत र ३ काँस्य पदक सहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते संघका अध्यक्ष सुरन्द्र गुरुङले बताए । प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ५ काँस्य पदकका साथमा कास्की दोश्रो र २ स्वर्ण, १ रजत र ५ कास्य पदकको साथमा तनहुँ तेश्रो भएको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० जिल्लाका एक सय २० जना खेलाडीहरु सहभागि भएको संघले जनाएको छ ।
तस्बिरः सुदर्शन रंजित
