
केशब पाठक/ पोखरा
नेपाल ओलोम्पिक कमिटीको चार वर्षिय कार्यकाल भदौको तेश्रो सातामा सकिदैछ । हाल कार्यरत अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठ नेतृत्वको कार्यकाल सकिने भए लगतै नेतृत्वका लागि प्रत्याशीहरु आ–आफ्नो ढङले निर्वाचन आफ्नो पक्षमा पार्न भित्र–भित्रै लविङ सुरु गरेका छन ।
खेलकुदको स्वायत्तः तथा छाता संस्थाको रुपमा कार्यरत ओलोम्पिकको नेतृत्व राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै प्रभावकारी रहने गर्छ । यहि भदौ २० गते हुने निर्वाचनका लागि नेपाल ओलोम्पिक कमिटीले आन्तरिक तयारी थालेको छ भने उम्मेदवारी दर्ता भदौ १३ गते हुनेछ ।
नेपाल ओलोम्पिक कमिटीको निर्वाचनमा यस पटक नेपाली खेलकुदका २७ संघहरु बाट प्रतिनिधित्व रहने जनाइएको छ । यस पटक गल्फ संघ थपिए पछि प्रतिनिधीको संख्या २७ पुगेको हो भने कार्यसमिती सदस्य संख्या समेत १७ बाट बढाएर १९ पुर्याइएको छ । जसमा ५ जना उपाध्यक्ष, र ३ जना सचिब रहने व्यवस्था संसोधित विधानले गरेको छ । भदौ ४ गते सम्म सवै खेलहरुसंघलाई प्रतिनिधी पठाउन पत्राचार गरिएको छ ।
यस पटकको निर्वाचनमा समेत विधानतः दुई पटक सम्म अध्यक्ष पदमा रहन सक्ने भए पछि जिवनराम श्रेष्ठ नेतृत्व लिन पुनः तयार रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार हक्की संघका अध्यक्ष समेत रहेका उमेशलाल श्रेष्ठ यस पटक समेत अध्यक्ष जिवनरामका लगि वाधक बन्दैछन । उमेशले जिवनरामलाई सर्बसम्मत हुन नदिने मुड बनाइसकेको स्रोतले जनाएको छ । अघिल्लो निर्वाचनमा समेत जिवनराम विरुद्ध उमेश पराजित भएका थिए ।
यता ओलोम्पिकको अर्को मुख्य कार्यकारी पद महासचिबमा भने निकै प्रतिष्पर्धा हुने देखिएको छ । महासचिब पदमा आधा दर्जन भन्दा बढी दावेदार मैदानमा देखिने सम्भावना देखिएको छ । नेपाल ट्राइयाथोलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, नेपाल कुस्ती संघका वरिष्ठ उपाध्यक्ष समिम मियाँ अन्सारी, व्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, कराँतेका उपाध्यक्ष पुरेन्द्र लाखेको नाम महसचिबको दावेदारका रुपमा देखा परेको छ ।
हाल कार्यरत महासचिब टेन्डी शेर्पा उपचारका लागि विदेशमा रहेकोले पनि उनी उम्मेदवार हुने वा नहुने बारे अझै केही टुँगो लागिसकेको छैन । महासचिबका दावेदारका आफूलाई उभ्याएका नेपाल ट्राइयाथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पद बाँडफाँड बारे सबै संग छलफल हुने बताए । ‘छलफल त अवश्य हुन्छ तर म यस पटक महासचिबको उम्मेदवार हुँ, हारे पनि जिते पनि’ कार्यसमितीका सदस्य समेत रहेका श्रेष्ठले भने–‘जिते भने इमान्दारीताका साथ काम गर्छु हारे भने नमस्ते गरेर फर्कन्छु ।’
