
पोखरा,
छिमेकी मुलुक भारतको जयपुरमा यही भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा सहभागि हुन १५ बर्ष देखि १८ बर्ष मुनिका १६ खेलाडी सहित २० जनाको टोली नेपाली टोली आइतबार पोखराबाट भारत तर्फ प्रस्थान गरेको हो । टोलीको कप्तानी मोनिका थापाले सम्हाल्ने भएकी छन ।
मित्र राष्ट्र भारतको जयपुरमा भदौं ४ गते देखि संचालन हुने उक्त प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जनाएका छन । अध्यक्ष गुरुङका अनुसार नेपाली टोलीले पहिलो चरणमा ४ वटा देशसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । प्रतियोगिता लिगकम नकउटका आधारमा हुने भएको हो ।
प्रतियोगितामा नेपालले भदौं ४ गते चिन, भदौं ५ गते भारत, भदौं ६ गते काजकिस्तान र भदौं ७ गते मंगोलीयासंग प्रतिष्प्रर्धा गर्ने भएको टिम म्यानेजर शान्ति थापाले जानकारी दिएकी छन । नेपाली टोलीमा कास्की बाट १० जना र अन्य उदयपुर, दाङबाट खेलाडी सहभागी भएका हुन ।
सहभागि खेलाडीहरुमा उपकप्तान दिप्ती गुरुङ, खेलाडहरुमा आकृति गुरुङ, योगिता गुरुङ, ज्योति गुरुङ, स्वेता गुरुङ, दिपिका गुरुङ, स्मृती गुरुङ, कोमली खड्का, सुनिता राई, अन्जना मल्ल, युकला रोक्का र आर्जु राउत रहेकाछन ।
नेपाली टिमको करिब दुई साता जसो पोखरामा ह्याण्डवल एकेडेमीमा प्रशिक्षण भएको संघ कास्कीका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए । नेपाली टिमको मुख्य प्रशिक्षकमा हिमाल दाहाल, प्रशिक्षकमा रन्जना राई र अफिसियलमा नरेन्द्र जोशी रहेकाछन ।
भारत प्रस्थान गर्नु अघि टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, प्रदेश सांसद एवं संघका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मी, संघका अध्यक्ष तेज बहादुर गुरुङ, संघ कास्कीका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ लगायतले खेलाडीहरुलाई शुभकामना सहित सफल यात्राको कामना गर्दै खेलाडीहरुलाई फुल माला र अविर लगाएर विदाई गरिएको छ ।
खेलको अन्तिम समयसम्म खेलको मैदान नछाड्न आग्रह गर्दै मन्त्री पुनले अनुशासित भएर खेल प्रर्दशन गर्न खेलाडीलाई सुझाव दिइन । उनले भनिन् ‘हामीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराउनु पर्नेमा घरमा घाँस काट्दै गरेकालाई खेलमा सहभागी गराउँदा सोचे अनुसारको नतिजा हासिल हुन सकेको छैन ।’
प्रदेश सांसद मोहन रेग्मीले खेलको माध्यमबाट महिलाहरुलाई शसक्त्तिकरण गर्नूपर्ने बताए । संघका अध्यक्ष तेज बहादुर गुरुङले ह्याण्डवल खेलको इतिहासमै पहिलो पटक उक्त प्रतियोगितामा नेपाल सहभागी भएको बताउँदै दश देश बिच हुने उक्त खेलमा नेपालको काँस्य पदकको सम्भावना रहेको उनले जनाए ।
